ग्रिजमनको उत्कृष्ट प्रदर्शनमा ला लिगामा बार्सिलोनाको शानदार जित

 भदौ ९, २०७६ सोमबार ६:४४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले रियल बेटिसमाथि पाँच दुईको प्रभावशाली जित निकालेको छ । यो सिजनको पहिलो खेलमा नै स्तब्ध भएको बार्सिलोनाले बेटिसविरुद्ध उत्कृष्ट फुटबल खेल्न सफल भयो । उसको जितमा एन्टोइन ग्रिजमनले दुई गोल गरे ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल बेटिसको एक गोलको अग्रतालाई एल्ट्याउदै पाँच गोल गरेको थियो । खेलको १५ औं मिनेटमा फिकिरको गोलमा बेटिसले अग्रता बनाएको थियो । तर ४१ औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई बराबरीमा पुर्‍याए । यसै सिजन बार्सिलाेनामा आएका उनले घरेलु मैदानमा डेब्यू खेलमा नै आफ्नाे उत्कृष्ट खेल देखाउन सफल भए  ।

त्यसपछि ५० औं मिनेटमा फेरि सेर्गि रोबर्टोको पासमा ग्रिजमनले नै गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्‍याए । ५६ औं मिनेटमा काल्र्स परेजले गोल गरे भने ६० औं मिनेटमा जोर्डी अलावाले बार्साका लागि चौथो गोल गरे । यस्तै ७७ औं मिनेटमा अर्टुरो भिडालले ग्रिजमनको पासमा बार्सिलोनालाई पाँच एकले अगाडि राखे ।

७९ औं मिनेट बेटिसका लागि लोरेन मोरोनाले एक गोल फर्काए पनि त्यसपछि अरु गोल हुन सकेन र बार्सिलोना पहिलो तीन अंक जोड्न सफल भयो । उसको अंक तालिकामा दुई खेलमा तीन अंक भएको छ ।

यस्तै, राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले लेगानेसलाई एक शून्यले हरायो । उसको जितमा एकमात्र गोल भिटोलोले गरेका थिए ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया