चिनियाँ विदेश मन्त्री वाङद्वारा प्रचण्ड र देउवासँग भेटवार्ता

 भदौ २४, २०७६ मंगलबार १२:१८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेश मन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टा छुट्टै भेटवार्ता गर्नु भएको छ ।

चिनियाँ विदेश मन्त्री वाङले नेपाल भ्रमणको अन्तिम दिन मंगलबार बिहान कांग्रेस सभापति देउवा र सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नु भएको हो । काठमाण्डौको नक्सालस्थित होटल म्यारियोटमा भएको भेटवार्तामा दुवै पार्टीका नेताहरुसँग विदेश मन्त्री वाङले दुई पक्षीय हित र दुई पार्टीबीचको सम्बन्धमा विषयमा छलफल गर्नु भएको थियो ।

पहिलो भेट प्रमुख प्रतिपक्षका नेता देउवासहितका कांग्रेस प्रतिनिधिमण्डलसँग गर्नु भएका उहाँले त्यसपछि सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग भेटवार्ता गर्नु भएको थियो ।

चिनियाँ विदेश मन्त्री वाङसँगको भेटवार्ता उत्साहवर्द्धक रहेको सत्तारुढ नेकपाका अध्यक्ष दाहालले प्रतिक्रिया दिनुभयो । उहाँले चिनियाँ विदेश मन्त्रीसँगको भेटपछि दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने, नेपालको आर्थिक विकासमा चिनियाँ लगानी थप हुने तथा दुई पार्टीबीचको सम्बन्धमा पनि नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ विदेश मन्त्री वाङसँगको भेटवार्तामा पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका कांग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमणबारे पनि चासो व्यक्त गर्नु भएको थियो ।

आइतबार साँझ नेपालको ३ दिने औपचारिक भ्रमणका लागि आउनु भएका चिनियाँ विदेश मन्त्री वाङले सोमबार राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली शिष्टाचार भेटवार्ता गर्नु भएको थियो भने समकक्षी प्रदिप ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गर्नु भएको थियो । चिनियाँ विदेश मन्त्री वाङ मंगलबार अपरान्ह स्वदेश फर्कनु हुनेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया