प्रधानमन्त्री ओली सिंगापुरबाटै भिडियाे कन्फरेन्सिङमार्फत मन्त्रिपरिषद् बैठकमा सहभागी हुने

 भदौ ५, २०७६ बिहिबार १८:१५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेका बेला पनि प्रविधिको सहयोगमा उहाँकै सहभागितामा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकमा भिडियो कन्फरेन्सिङ प्रविधिमार्फत प्रधानमन्त्रीले बैठकमा सहभागिता जनाउनु हुनेछ । मन्त्रिपरिषद्को गएको १, २ र ४ गते बसेको बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिनुभएको हो ।

बैठकले नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ संशोधन गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सिङ लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था थप गरेको हो । प्रधानमन्त्री ओली बिहीबार उपचारका लागि सिंगापुर जानुभएको छ । सिंंगापुर बसाइ एक हप्ताभन्दा लम्बिन सक्ने भएकाले यो बीचमा बैठक बस्न परे प्रविधिकै सहयोगमा पनि प्रधानमन्त्रीको सहभागितामा बैठक बस्नेगरी नियमावली परिवर्तन गरिएको हो ।

यस्तै बैठकले काठमाण्डौ तराइ मधेस द्रुतमार्ग सडक आयोजनको प्रस्तावित खण्ड रेखांकन परिवर्तन गर्न स्वीकृति दिएको छ ।

सरकारले खारेज गरेको द टिम्बर कार्पोरेसन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिनुभएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । 
तीन दिनको बैठकले विभिन्न ३५ वटा निर्णय गरेको छ । 

यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया