'नेकपाका शीर्ष नेताहरुकाे संवाद र तिक्तताले सबै राजनीतिक दलका कार्यकर्ताकाे शिर निहुरियाे'

 भदौ ८, २०७६ आइतबार १६:५१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक कलहमा दुःख व्यक्त गरेको छ । 

बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टीभित्र भने दुई शीर्ष नेताहरुबीच भएको संवाद र तिक्तताले सबै राजनीतिक दलका कार्यकर्ताको शिर निहुरिएको बताउनु भयो । 

यस्तो किसिमको व्यवहार र संवादको शैलीले राजनैतिक संस्कृति नै बदनाम हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । देशको आवश्यकता अनुसार दलहरुबीच कार्यगत एकता हुनुपर्ने अवस्थामा एउटै दलभित्रको किचलोले समृद्धितर्फ बढ्न बाधा पुग्ने धारणा राख्नुभयो ।   

फरक प्रसंगमा नेपाल कम्युनिष्ट पार्टीका सांसद बलराम बाँस्कोटाले पारस शाहले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि गरेको दुर्व्यवहारमा किन कारबाही नगरेको भन्दै सरकारसँग प्रश्न गर्नुभयो । यस्तै सांसद बाँस्कोटाले देशमा अवाञ्छित गतिविधिहरु बढ्ने, विभिन्न बहानामा कानुन हातमा लिने र ‘सरकार र संविधानको बर्खिलाप हुनेगरी गतिविधि बढ्दा सरकार के गरेर बसेको छ?’ भनेर प्रश्न गर्नुभयो । 

रवि लामिछाने प्रकरणमा विभिन्न सामाजिक सञ्जालमा अवाञ्छित गतिविधि हुँदा प्रशासनलाई कानुन कार्यान्वयन गर्न के कारणले रोकियो भनेर सांसद बाँस्कोटाले आक्रोश पनि व्यक्त गर्नुभयो । काठमाण्डौ चितवन लगायतका क्षेत्रमा बढेको अवाञ्छित गतिविधि रोक्न सरकारले गरिरहेको कामबारे सदनमा जानकारी गराउन माग पनि गर्नुभयो ।

विशेष समयमा बोल्ने अन्य वक्ताहरुले देशको समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया