सीको नेपाल भ्रमण : कुलमान आफैँ फिल्डमा, ‘बकेट क्रेन’मार्फत तार व्यवस्थित गरिँदै, सडक बत्ती झिलिमिली हुने

 असोज २४, २०७६ शुक्रबार १३:३१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विशेष तयारी भैरहेको छ । चिनियाँ राष्ट्रपतिकै भ्रमणलाई लक्षित गरेर नेपाला विद्युत प्राधिकरणले सडकका तार ब्यवस्थित गर्ने र सडक बत्ती मर्मतको काम थालेको छ ।

प्राधिकरणको नयाँ बानेश्वर, रत्नपार्क र कुलेश्वर वितरण केन्द्रले नियमित विद्युत आपूर्तिको लागि तार व्यवस्थित बनाइरहेका छन् । यसको लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ फिल्डमा खटिनुभएको छ । उहाँले केही दिनदेखि एयरपोर्ट, बानेश्वर, सोल्टी होटल, शितलनिवासमा पुगेर बिजुली व्यवस्थित बनाउन  भैरहेका प्रयास निरीक्षण गर्नुभएको छ ।

‘यो निकै महत्त्वपूर्ण भ्रमण हो, प्राधिकरणले पनि भ्रमण सफल बनाउन आफ्नो क्षेत्रको काम गरिरहेको छ ।’ घिसिङले उज्यालो अनलाइनसँग भन्नुभयो । बिजुली भरपर्दो बनाउन पुराना ट्रान्सफर्मर फेर्नेदेखि तार फेर्ने र सफा गर्नेसम्मका काम प्राधिकरणले गरिरहेको छ ।

यस्तै, सडकमा गुजुल्टिएका तार ब्यवस्थित गर्ने काम पनि भैरहेको छ । यसको लागि केवल अपरेटर र इन्टरनेट सेवा प्रदायकको संस्था आईएसपीएनसँग सहकार्य भैरहेको बानेश्वर वितरण केन्द्र प्रमुख बाबुराम सुवेदीले जानकारी दिनुभयो ।

‘हामिले बकेट क्रेनमार्फत मर्मत र तार व्यवस्थापनको काम गरिरहेका छौँ, केवल अपरेटर र आईएसपीएनहरुले जनशक्ति खटाउनुभएको छ’ सुवेदीले भन्नुभयो ।

यस्तै, सडक बत्ती जडान र मर्मतको काम पनि भैरहेको छ । खासगरी सोलार बत्ती नभएका स्थानमा प्राधिकरणले नै नयाँ सडक बत्ती जडान गरिरहेको छ । सोलार बत्ती नभएको र सडकको एकापट्टी मात्र बत्ती भएको ठाउँमा सडक बत्ती राखिने प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया