पारसको राजीनामापछि नेपाली क्रिकेटमा तरङ्ग : अबको कप्तान को ?

 असोज २८, २०७६ मंगलबार १५:१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आश्चर्यजनक रुपमा कप्तान पदबाट राजीनामा दिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसीले निलम्बन गरेका बेला नेपाली क्रिकेट भनेकै पारस भन्ने छविसमेत बनाएका कप्तान खड्काको राजनीमाले नेपाली क्रिकेट क्षेत्र फेरि एक पटक तरंगित बनेको छ ।

आईसीसीको पछिल्लो बोर्ड बैठकले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको प्रतिबन्ध सशर्त फुकुवा गर्ने निर्णय गरे पछि कप्तान खड्काको राजीनामा आउनुलाई आश्चर्यजनक रुपमा बुझिएको हो ।

सम्बन्धित समाचार

२००९ मा तत्कालीन कप्तान विनोद दासले छाडेपछि पारसले नेपालको कप्तानी सुरु गरेका थिए । अलराउण्डर पारसले उमेर समूहमा तीन वटा विश्वकप खेलेका छन् । २००४, २००६ र २००८ को विश्वकप खेलिसकेका पारस लामो समयसम्म नेपाली टिमको कप्तानीमा रहे । उनकै कप्तानमा रहेर नेपाली टिमले डिभिजन फाइभदेखि एक दिवसीय मान्यतासमेत प्राप्त गरेको छ ।

जुन नेपाली क्रिकेट टिमको अहिलेसम्मकै ठूलो सफलता पनि हो । टी–२० विश्वकप खेल्दा समेत कप्तानी गरेका पारसले यस पटकको छनोट खेलमा भने नेपाललाई सफलता दिलाउन सकेनन् । त्यसैगरी पारसले एक दिवसीय र टी–२० दुवैमा शतक प्रहार गर्ने खेलाडीको इतिहास पनि बनाएका छन् ।

एक दिवसीय मान्यता पाएपछि पहिलो सिरिज नेदरल्याण्ड्ससँग खेल्दा नेपालले ड्र गरेको थियो भने यूएईविरुद्धको सिरिज भने नेपालले २–१ ले जितेको थियो ।

राजीनामा दिएका पारसले सामाजिक सञ्जाल फेसबुकमा आईसीसीले निलम्बन फुकुवाका लागि गरेको कामको प्रशंसा गर्दै अब नयाँ तरिकाबाट नेपाली क्रिकेटलाई अघि बढाउनका लागि बाटो खुलेको बताएका छन् । उनले क्यानमा नयाँ नेतृत्व आएकाले नयाँ शिराबाट नेपाली क्रिकेट अघि बढ्ने बताउँदै त्यसका लागि आफूले बाटो खोलेको उल्लेख गरेका छन् । साथै उनले नेपाली क्रिकेटलाई माया गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

कप्तान भनेकै पारस खड्का भन्ने छवि बनाएका उनले यति चाँडै राजीनामा देलान् भन्ने कसैले पनि सोचेका थिएनन् । भर्खर ३१ वर्षका पारसले अझै क्रिकेट खेल्लान् त भन्ने अर्को प्रश्न पनि छ । हुन त ठूला–ठूला खेलाडीहरुले कप्तानी पद छाडेर पनि नियमित क्रिकेट खेलिरहेका उदाहरण प्रशस्त छन् ।

याे पनि पढ्नुहाेस्

एक हिसाबले क्यानको निलम्बन फुकुवापछि अहिले आएको कार्यसमितिलाई काम गर्नका लागि सहज बनाउन भन्दै राजीनामा दिनुे ठिकै पनि होला । तर क्यानको कार्यसञ्चालन र टिमको कप्तानी भने विलकुलै फरक पाटा हुन् । क्यानले प्रशासनिक काम गर्ने हो भने टिमले देशको प्रतिनिधित्व गर्दै खेल्ने हो ।

अब नेपाली क्रिकेट टिमको कप्तान को त ?

नेपाली क्रिकेटको नियमित उपकप्तान भनेको ज्ञानेन्द्र मल्ल हुन् । तर सिंगापुर र ओमानसँगको सिरिजमा उनी खेलेनन् । उनैले आफै उक्त सिरिज नखेल्ने घोषणा गरेपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको थियो । ओमान र सिंगापुर सिरिजमा ज्ञानेन्द्रसहित, शरद भेषावकर, बसन्त रेग्मी पनि सहभागी नभएकाले दीपेन्द्रले उपकप्तानीको जिम्मेवारी पाएका थिए । त्यो जिम्मेवारीमा दीपेन्द्र केही हदसम्म सफल पनि भएका छन् ।

अबको नेतृत्वमा भने ज्ञानेन्द्र, दीपेन्द्र, शरद र बसन्तमध्ये एक जनाले लिने निश्चित जस्तै छ । यसमा सबैभन्दा बढी सम्भावना ज्ञानेन्द्रको नै देखिन्छ । उनले लामो समयसम्म पारसले कप्तानी गर्दा उपकप्तानी गरेका छन् भने पारस नखेल्दा अधिकांश प्रतियोगितामा कप्तानी समेत गरिसकेका छन् । जसले गर्दा अबको कप्तान उनी बन्ने सम्भावना पनि छ ।

यसैगरी अर्का सिनियर खेलाडी हुन शरद भेषावकर । भेषावकरले उमेर समूह हुँदै नेपाली राष्ट्रिय टिमसम्म आइपुग्दा राम्रो प्रदर्शन गरिसकेका छन् । जसले गर्दा उनको कप्तानीमा पनि नेपालले आगामी दिनको यात्रा तय गर्न सक्छ ।

दीपेन्द्रसिंह ऐरीले पनि उमेर समूह हुँदै राष्ट्रिय टिमको यात्रा तय गरेका हुन् । उनले उमेर समूहमा कप्तानी गरे पनि सिनियर लेभलमा पहिलो पटक उपकप्तानको जिम्मेवारी सम्हालेका छन् । हुन त कप्तान हुँदा उपकप्तानको भूमिका त्यति धेरै नहुने भएकाले ऐरीलाई यदि जिम्मेवारी दिने हो भने के गर्लान् त्यो भने पछि नै थाहा हुने छ ।

पारसले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)का कुनै पनि पदाधिकारीले अहिलेसम्म प्रतिक्रिया भने दिइसकेका छैनन् ।

याे पनि पढ्नुहाेस्


अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Prabin

    Oct. 15, 2019, 4:05 p.m.

    it is feel so bad but we will see new captain

  •  0 Reply

तपाईको प्रतिक्रिया