जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीलाई अर्थमन्त्रीकाे आग्रह

 असोज २८, २०७६ मंगलबार १५:५४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ । 

अर्थमन्त्री खतिवडाले गैर आवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने आश्वासन पनि दिनुभयो । गैर आवासीय नेपाली संघको मंगलबारदेखि काठमाण्डौमा सुरु भएको नवौँ विश्व सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै उहाँले सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन आवश्यक लगानी जुटाउन सम्भव नभएको उल्लेख गर्दै गैर आवासीय नेपालीहरुबाट जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक रुपमा करिव ७० अर्व लगानीको अपेक्षा गरिएको पनि बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यकतामा सरकारले जोड दिएको पनि स्पष्ट पार्नुभयो । त्यस अवसरमा अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा गैर आवासीय नेपालीहरुले गर्दै आएको सहयोगको खुलेर प्रशंशा पनि गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालको आर्थिक विकासमा उत्प्रेरकको भूमिका निर्वाह गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालमा वैदेशिक लगानी भित्र्याउन पूर्वाधार विकासमा जोड दिन सरकारलाई पनि सुझाव दिनुभयो ।

कांग्रेस नेता महतले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले संस्थागत क्षमता विकासको कामलाई पनि तिव्रता दिनुपर्ने आवश्यकता औंँल्याउनु भयो ।

अन्तिम अपडेट: कात्तिक ८, २०७६

तपाईको प्रतिक्रिया