उपचुनावका लागि कात्तिक १० गते भित्र उम्मेदवारको नाम पठाउन नेकपाको निर्देशन

 असोज २९, २०७६ बुधबार ११:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र प्रदेश सभाको सदस्यको उपचुनावका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरी तीन जनाको नाम सिफारिस गरी कात्तिक १० गते भित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको हो । 

निर्वाचन क्षेत्रीय कमिटी नबनेको स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेशसभाको सदस्यको हकमा पनि त्यही कुरा लागू गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय नगरपालिका वा गाउँपालिकाहरुको मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षको उम्मेदवारका लागि भने सम्बन्धित गाउँ वा नगर कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो । 

वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउँ नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने गरि बैठकले निर्णय गरेको छ । उपचुनाव मंसिर ६ गते हुँदैछ ।

त्यसैगरी बैठकले संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी चयन गरेको छ । यसअघि नै संगठन विभाग प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा सचिवालयले चयन गरिसकेको छ । 

पछिल्ला सदस्यसहित संगठन विभाग ५ सदस्यीय भएको छ । यद्यपि संगठन विभागले पूर्णता भने अझै पाएको छैन ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया