नेकपाका सांसद पार्वत गुरुङविरुद्ध ज्यान मार्ने अभियोगमा पक्राउ पूर्जी जारी

 असोज २९, २०७६ बुधबार १८:३७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डौले गएकाे भदाै १६ गते  जिल्ला प्रहरी कार्यालय दाेलखालाई पत्र पठाउँदै सांसद गुरुङलाई अदालतमा उपस्थित गराउन भनेकाे थियाे । 

वीरध्वज खड्काले गएको वैशाख २९ गते काठमाण्डौ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए । २०७४ सालमा भएको स्थानीय चुनावपछि वीरध्वज खड्कामाथि काठमाण्डौको गौशालामा आक्रमण भएको थियो । खड्काले आफूमाथि सांसद गुरुङसहितको संलग्नतामा आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा ज्यान मार्ने उद्योगका किटानी दर्ता गराएका थिए ।

जिल्ला अदालत काठमाण्डौले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङसमक्ष म्याद तामेल गरेको छ । २०७० सालको संविधानसभामा समेत दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका गुरुङ २०७४ सालको चुनावमा दोलखा क्षेत्र नम्बर १ बाट ५५ हजार ९ सय ५४ मत ल्याएर विजयी भएका थिए । 

पछिल्लो समय विभिन्न मुद्दामा सांसदहरु पक्राउ पर्ने क्रम बढेको छ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निर्वतमान सभामुद महरालाई हिरासतमा राखेर अनुसन्धान भैरहेको छ ।

त्यस्तै नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई हत्याको आरोपमा पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।त्यसैगरी राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद कुमार साहलाई विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको छ । 

फौजदारी अभियोग लागेकाले महरा र आलमको सांसद पद निलम्बनमा परेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया