‘प्रधानमन्त्री ओलीले देख्नुभएको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो साथ र समर्थन’

 असोज ३०, २०७६ बिहिबार १८:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नुभएको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो साथ र समर्थन पाएको बताउनु भएको छ । 

मन्त्री बाँस्कोटाले नेपाललाई भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बनाउने प्रधानमन्त्री ओलीले बारम्बार देख्नुभएको सपनामा बलियो साथ र समर्थन हुनेगरी चिनियाँ राष्ट्रपति सीले नेपाली जनतासमक्ष सार्वजनिक अभिव्यक्ति दिनुभएको बताउनु भएको हो ।

‘नेपाललाई भूपरिवेष्ठित नभइ भूजडित राष्ट्र बनाउन बारम्बार देख्नुभएको प्रधानमन्त्री ओलीको सपनामा चीनको बलियो साथ र समर्थन स्वयं चिनियाँ राष्ट्रपतिबाटै नेपाली जनता समक्ष व्यक्त भएको छ,’ बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘अब नेपाल हवाई, समुन्द्र, यातायात, सञ्चार, रेल सेवालगायतका आधुनिक विकासका मानकहरुमा चीनसँगै अघि बढने सम्भावनाको ढोका चिनियाँ राष्ट्रपतिको भ्रमणबाट खुलेको छ ।’

मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रुपमै सफल भएको पनि दोहोर्‍याउनु भयो । उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको उपलब्धिलाई मूल्यमा मापन गर्न नसकिने पनि बताउनु भयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया