आलमकाे बचाउमा कांग्रेस नेतृत्व : षड्यन्त्र गरी सरकारले हाम्रा नेता कार्यकर्ता फसाउन खाेज्याे

 कात्तिक १, २०७६ शुक्रबार १८:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले षड्यन्त्रमूलक रुपमा कांग्रेसका नेता तथा कार्यकर्तालाई दुःख दिन थालेको आरोप लगाउनु भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि भक्तपुरको बोडेमा सुरु भएको दुईदिने प्रशिक्षणमा बोल्दै उहाँले सरकारले कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी षड्यन्त्र सुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘१२ वर्षअघिको घटनालाई लिएर आलममाथि सरकारले अहिले झुटो मुद्दा लगाएर पक्राउ गर्‍यो, सरकारले १२ वर्षसम्म के हेर्‍याे, १२ वर्षसम्म केही नगर्ने अहिले आएर पक्राउ गर्ने ? यसबाट कुरा प्रष्ट हुन्छ कि सरकारको दुःख दिने नियत प्रष्ट छ’, उहाँले भन्नुभयो, ‘तर ढिलोचाँडो साथीहरुले न्याय पाउने छन् ।”

सभापति देउवाले दुई तिहाईको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाउँदै देश र जनताको सेवामा लाग्नु पर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको कार्यकर्ता बनाएको आरोप लगाउनुभयो । उहाँले जनताको करबाट तलब खाएर कुनै पार्टीको वकालत गर्न नहुने बताउँदै यदि गरे त्यस्ता कर्मचारीलाई एक एक गरेर हिसाब गर्ने बताउनुभयो ।

‘नेकपाले निर्वाचनमा दुई तिहाई ल्याएर सरकार बनाएको हो, कम्युनिष्ट राज्य होइन । यदि सरकार थप निरंकुश बन्दै गए आन्दोलन गरेर लखेट्नुपर्छ’, उहाँले भन्नुभयो । 

सरकारले संविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने भनाइ राख्दै उहाँले कांग्रेसबाट विजयी जनप्रतिनिधिलाई जनताको मन जित्ने गरी राम्रो काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै उहाँले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्नुभयो । पौडेलले कांंग्रेस विकल्पको रुपमा उदाउन नसके तानाशाहको हातमा देश पुग्ने बताउनुभयो ।

कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले कांग्रेसले आसन्न उपभुनाव जसरी पनि जित्नुपर्ने बताउँदै पार्टी एक हुन जरुरी रहेको बताउनुभयो ।

महामन्त्री डाक्टर शशांक कोइरालाले सरकार नागरिकका स्वतन्त्र संस्थाहरुको अधिकार खोस्ने पक्षमा देखिएको बताउनुभयो । देशलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ  कांग्रेस अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस दिनप्रतिदिन संकटमा पर्दै आएको बताउँदै अब पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्दै पार्टीलाई अगाडि बढाउनु पर्ने भनाइ राख्नुभयो ।

सञ्चार माध्यमले समेत षड्यन्त्रमूलक रुपमा कांग्रेसको विरुद्धमा आएको बताउँदै सिटौलाले भन्नुभयो, ‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ग्राण्ड डिजाइन बनाएर कांग्रेसका विरुद्ध लागेका छन्, कांग्रेस सांसद मोहम्मद अफताब आलमविरुद्ध आएका समाचार यसको नमुना हो ।’

सिटाैला तत्कालीन गृहमन्त्री रहेका बेला आलम उम्मेद्वार बनेकाे निर्वाचन क्षेत्रमा बम विस्फाेट भएकाे थियाे ।

आलमले नै केही व्यक्तिलाई प्रयोग गरी बम बनाउन लगाएको र त्यही क्रममा प्राविधिक गडबडीले बम विस्फोट भएको आरोप छ । बम बनाउने क्रममा सरुअठाका ओसी अख्तर, पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित आठ जना गम्भीर घाइते भएको र ती आठै जनालाई इँटाभट्टामा जलाएर हत्या गरेको गम्भीर आरोप आलममाथि लागेको छ । प्रहरीले आलमलाई पक्राउ गरी हिरासतमा राखेर घटनाकाे अनुसन्धान प्रकृया अगाडि बढाएकाे छ । 

कांग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सचिव मुक्ति आचार्यका अनुसार प्रशिक्षणमा देशभरबाट ४ सयभन्दा बढीको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम शनिबारसम्म सञ्चालन हुनेछ ।
याे पनि पढ्नुहाेस्

 

अन्तिम अपडेट: चैत १४, २०८०

3 Comments

  • अनुपमा रेग्मी

    Oct. 19, 2019, 6:36 a.m.

    काङ्ग्रेसले आलम जस्तो अपराधीलाई बचाउन खाेज्नु अत्यन्त दु:खलाग्दाे कुरा हाे । यसबाट काङ्ग्रेसको छवि अझै धमिलाे हुने निश्चित छ ।

  •  0 Reply
  • Nirajan Basnet

    Oct. 18, 2019, 11:36 p.m.

    यस्तो अत्यन्त क्रुर र अमानवीय घटनालाई पनि काँग्रेसले लुकाएर राख्ने र अपराधी आफताब आलमलाई सांसद र मन्त्रीसम्म बनाउने, सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामाले घाइतेलाई जिउँदै जलाउन लाने ट्र्याकटरलाई स्कर्टिङ गर्ने, प्रहरीका एसपी लक्ष्मण न्यौपानेले मुद्दा दबाउने सबै अपराधी हुन ।

  •  0 Reply
  • मनोज लामिछाने

    Oct. 18, 2019, 7:37 p.m.

    भ्रष्टचारी, अपराधी, चोर फटाहरुको बचाऊ गर्दै जाने हो भने देशमा सुशानको प्रत्याभूति जनताले कसरी महसुस गर्न सक्छन् l नीति, नियम र कानुन के गरिब जनताका लागि मात्र हो?

  •  0 Reply

तपाईको प्रतिक्रिया