बूढीगण्डकी जलविद्युत परियोजना अघि बढाउन धादिङ र गोरखाका सांसदसँग ऊर्जामन्त्रीको छलफल

 कात्तिक ४, २०७६ सोमबार ९:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बूढीगण्डकी जलविद्युत परियोजना अघि बढाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुन अनन्तले धादिङ र गोरखाका सांसद र सरोकालवालासँग छलफल गर्नुभएको छ ।

मन्त्री पुनले बूढीगण्डकी जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना भएको भन्दै दुवै जिल्लाका जनप्रतिनिधीहरुलाई मुआब्जा निर्धारण गरेर अघि बढ्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिनुभयो । उहाँले सरोकारबाला सबैलाई यो काममा सहयोग गरिदिनसमेत आग्रह गर्नुभयो । 

बूढीगण्डकी जलविद्युत आयोजना सरकारको प्राथमिकताको रहेको भन्दै आयोजना अघि बढ्नेमा शंका नगर्न मन्त्री पुनको भनाइ थियो ।

‘सरकार र मन्त्रालय बूढीगण्डकी जलविद्युत परियोजना अघि बढाउन प्रतिबद्ध छ, यो सरकारको उच्च प्राथमिकतामा रहेको परियोजना हो । यसलाई अघि बढाउन हामी विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौँ, यसमा तपाइँहरुले शंका गर्न आवश्यक छैन ।’ मन्त्री पुनले भन्नुभयो ।

सरकारले ४४ हजारभन्दा बढी रोपनीको मुआब्जा वितरण गरिसकेको छ भने १८ सय रोपनी जग्गाको मूल्य निर्धारण बाँकी रहेको छ । यो जग्गाको मूल्य निर्धारणको लागी मन्त्रालयले सबै सरोकारवालाहरुसँग छलफल अघि बढाएको हो । गोरखाको आरुघाट, आरखेत र धादिङको आरुघाट र खहरेमा मुआब्जा निर्धारण बाँकी छ । 

छलफलमा पूर्वमन्त्री गंगालाल तुलाधरले आयोजना चाँडोभन्दा चाडो अघि बढाइदिन आग्रह गर्नुभयो । उहाँले बूढीगण्डकी परियोजना देशको लागि गेम चेन्जर आयोजना भएको भन्दै सरकारले यो परियोजना प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका नेतासमेत रहनुभएका पूर्व सांसद चीनकाजी श्रेष्ठले आयोजना अघि बढाउन सहयोग गर्न तयार रहेको भन्दै सरकारको प्राथमिकतामा पारिदिन आग्रह गर्नुभयो । त्यस्तै, नेकपाका नेता तथा सांसद हरि अधिकारीले मुआब्जा निर्धारण गर्न बाँकी जग्गाको टुंगो लगाइदिन मन्त्री पुनसँग आग्रह गर्नुभयो ।

छलफलमा धादिङका पूर्वमन्त्री गंगालाल तुलाधर, कांग्रेस नेता चीनकाजी श्रेष्ठ, सांसद हरि अधिकारी, प्रदेश सांसद रामकुमार अधिकारी, प्रतिनिधिसभाका सदस्य भूमि त्रिपाठी र पूर्व सांसद गुरु बुर्लाकोटी सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया