नेपाली राष्ट्रिय फुटसल टोली इरान पुग्यो

 कात्तिक ४, २०७६ सोमबार १५:४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

इरान – एएफसी कप फुटसल च्याम्पियनशिपको छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टोली इरान पुगेको छ । 

पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोली नेपाली समयअनुसार सोमबार दिउँसो साढे एक बजे इरानको उर्मिया पुगेको हो ।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान साढे नौ बजे हिँडेको नेपाली टोली कतार एयरवेजमा कतार हुँदै राति पौने एक बजे इरानको इमाम खोमेइनी एयरपोर्टमा अवतरण भएको थियो । त्यसपछि नेपाली टोली ११ घण्टा बसको बाटो हुँदै उर्मिया पुगेको हो ।

प्रतियोगिताको दुई दिनअघि नै इरान आइपुगेको नेपाली टोलोले इरानमा सेन्ट्रल तथा दक्षिण एसियाली छनोटका खेल खेलाइने मैदानमा दुई दिन प्रशिक्षण लिनेछ । 

एएफसीको नियम र इन्डोर खेल भएकाले टोली दुई दिनअघि नै इरान आइपुगेको प्रशिक्षक विष्णु गुरुङले जानकारी दिए। ‘हामीले नेपालमा खुला मैदानमा प्रशिक्षण लिएका थियौँ । यहाँ इन्डोर खेल्नु पर्नेछ ।’ प्रशिक्षक गुरुङले भने, ‘एक दिन यहाँ प्रतियोगिता सञ्चालन हुने मैदानमा प्रशिक्षण लिनेछौँ । जसले खेलाडीलाई इन्डोरको वातावरणसँग छिटो घुलमिल हुन सहज हुनेछ ।’ 

लामो समय नेपाली फुटबलको अनुभव बटुलेका र युवा खेलाडी समेत टोलीमा रहेकाले नतिजामा सुधार आउनेमा विश्वस्त रहेको प्रशिक्षक गुरुङको भनाइ छ । 

समूह ‘ए’ मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै दोस्रो खेल २४ तारिखमा उज्वेकिस्तान र तेस्रो खेल २५ तारिखमा अफ्गानिस्तानसँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया