पाेखरा पल्टनले ललितपुर फाल्कोन्सलाई ६ विकेटले हरायाे

 कात्तिक ४, २०७६ सोमबार १७:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वुमन्स च्याम्पियन्स लिगमा पोखरा पल्टनले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । प्रतियोगिताको अन्तिम खेलमा पोखराले ललितपुर फाल्कोन्सलाई ६ विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा सात विकेट गुमाउँदै एक सय २२ रन बनायो । ६ रनमा पहिलो विकेट गुमाएको उसले ३९ रनमा चार विकेट खेर फाल्यो । 

फाल्कोन्सका लागि गीता गोसाईँ र रोशनी बोहोरा एक एक रनमा आउट भए भने कप्तान नेरी थापा आठ तथा करुणा भण्डारी पनि मात्र एक रनमा पेभेलियन फर्किइन् । उसका लागि ममता चौधरीले ५२ तथा कबिता जोशीले ३१ रनको योगदान गरे । बलिङमा पोखराका लागि सीता रानामगरले दुई विकेट लिइन् ।

जवाफमा पोखराले १७ ओभर २ बलमा चार विकेट गुमाउँदै लक्ष्य भेट्यायो । पोखराले पनि सुरुवात भने राम्रो गर्न सकेन । पाँच रनमा तीन विकेट गुमाएको पोखराका लागि कबिता कुवँरले ६१ रन बनाइन् भने बिन्दु रावलले ४० रन बनाइन् । बबिता र बिन्दुले उत्कृष्ट शतकीय साझेदारी गरे । 

अन्तिम खेलमा जित निकाले पनि पोखरा प्लेअफमा पुग्न सकेन । ललितपुर भने जितविहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा चितवन राइनोज फाइनल पुगिसकेको छ । यस्तै क्याट क्वीन्स काठमाण्डौ र विराटनगर टाइटन्स भने इलिमिनेटरमा पुगेका छन् ।

अब काठमाण्डौ र विराटनगरले मंगलबार हुने इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले बिहीबार हुने फाइनलमा चितवनको सामना गर्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया