अटिजम भएका नेपाली बालकले नेपाली राष्ट्रिय झण्डा फहराउँदै  पूरा गरे लिस्बन म्याराथन

 कात्तिक ६, २०७६ बुधबार १३:३४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

‘अटिजम स्पेक्ट्रम डिसअर्डर’ भएका एक नेपाली बालकले राष्ट्रिय झण्डा बोकेर लिस्बन म्याराथन पूरा गरेका छन् ।

पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षीय युरेश पाण्डेयले आफ्ना भाइ युरेकको साथमा दौड पूरा गरेका हुन् । लिस्बन मिनी म्याराथनमा नेपालबाट युरेश र युरेक मात्रै रहेको आयोजक म्याराथन क्लब पोर्चुगलले जनाएको छ ।

म्याराथन क्लब पोर्चुगलको आयोजनामा शनिबार राजधानी लिस्बनमा भएको ‘ईडीपी मिनी च्याम्पियन्स म्याराथन’ मा ७ वर्षीय युरेश पाण्डेयले आफ्ना ५ वर्षीय भाइ युरेकको साथमा  २ किमी दौड पूरा गर्न सफल भएका हुन् ।

युरेशमा अटिजमको पहिलो लक्षण तीन वर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डेयले जानकारी दिनुभयो ।  बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा सहभागी भई दौड पूरा गर्दा आफूलाई निकै खुशी लागेको पाण्डेयले बताउनुभयो । 

युरेश र युरेक नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए । ४ देखि ७ वर्षसम्मका झण्डै ५ सय बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो । 

बालबालिकाहरुलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि क्लबले हरेक वर्ष बालबालिकाहरुबीच दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । युरेश र युरेक दुवै दाजुभाइ आगामी मार्चमा अर्को म्याराथनमा सहभागी हुने तयारीमा छन् ।

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया