पशुपति घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा थपियो

 कात्तिक ६, २०७६ बुधबार १५:१३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै बुधबार बिहान शव जगाउनेलगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो ।

घाट सेवा केन्द्रका कर्मचारीहरुसँग उनीहरुको सेवा सुविधा वृद्धि गर्ने विषयमा सहमति गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष दिनेशकुमार डंगोलको उपस्थितिमा गरिएको सहमतिमा घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाएको उल्लेख गर्दै त्यसलाई बुधबारबाटै कार्यान्वयनमा लैजान लागिएको पनि कोषले जनाएको छ ।

सहमति अनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अब एउटा शव जलाएबापत १२ सय रुपैयाँबाट १५ सय रुपैयाँ पाउनेछन् भने औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार पुर्‍याइएको छ । त्यसैगरी अवकाश पाउँदा उपदानबापत डेढ लाख पाउनेमा पाँच लाख रुपैयाँ पुर्‍याइएको छ ।

१० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशबापत ५० हजार रुपैयाँ दिँदै आएकोमा अब उनीहरुले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सदस्य सचिव ढकालले १० वर्षदेखि १५ वर्षसम्म काम गर्दै आएको घाट सेवाका कर्मचारीलाई अवकाश पछि पाउने उपदान १ लाख रुपैयाँ बढाएर ३ लाख दिने सहमति गरिएको पनि बताउनु भयो ।

त्यसैगरी १५ वर्षभन्दा बढी सेवा गरेका घाट सेवाका कर्मचारीले पाउने उपदान बापतको रकम १ लाख ५० हजारबाट बढाएर ५ लाख पुर्‍याउने सहमति पनि गरिएको छ । यसैबीच, काठमाण्डौ महानगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष डंगोलले १५ वर्षभन्दा बढी काम गरेका घाट सेवाका कर्मचारीहरुलाई ५ लाख उपदान दिने सहमतिप्रति असन्तुष्टि जनाउँदै कम्तिमा १० लाख पुर्‍याउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यता, घाट सेवाका कर्मचारीहरुले पनि १५ वर्ष सेवा पूरा गरेका आफूहरुलाई पाँच लाख मात्रै उपदान दिने सहमति गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले कम्तिमा १० लाख उपादान दिने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषसँग माग पनि गरेका थिए ।

यसैबीच, पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्ने योजना पनि अघि सारेको छ । शव दहन गर्ने कार्यमा अवरोध आउन नदिन विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्न एउटा शव दहन गर्ने मेसिन थप गर्न लागिएको कोषका सदस्य सचिव ढकालले बताउनु भयो ।

हाल पशुपतिको विद्युतीय शवदाह गृहमा शव दहनका लागि २ वटा मेसिन राखिएको छ । त्यसलाई थप गरेर तीन वटा बनाउने कोषको योजना छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया