काठमाण्डौमा ऊर्जा सम्मेलन : २५ हजार मेगावाट बिजुली उत्पादन र व्यापारमा छलफल  हुने

 कात्तिक ६, २०७६ बुधबार १६:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आउँदो मंसिर ५ र ६ गते काठमाण्डौमा ऊर्जा सम्मेलन हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इप्पानको आयोजनामा काठमाण्डौमा हुने सम्मेलनमा नेपालमा बिजुली उत्पादन र अन्तर्राष्ट्रिय बजारबारे छलफल हुने आयोजकले जनाएको छ ।

‘पावरिङ द एसियन सेन्चुरी’ नारासहित हुने सम्मेलनमा भारत र बंगलादेशका ऊर्जा मन्त्रीसहित अमेरिका, नर्वे, दक्षिण कोरिया, क्यानडा, बेलायत, नेदरल्याण्ड्स, भुटानलगायतका देशबाट प्रतिनिधि सहिभागी हुने स्वतन्त्र ऊर्जा उत्पादक संघ(इप्पान)ले जनाएको छ ।

सम्मेलनमा भारतीय जलशक्ति मन्त्री गजेन्द्रसिंह शेखावत, बंगलादेशका शक्ति, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिद,  भारतीय पावर ग्रिड कर्पोरेशनका अध्यक्ष श्री के श्रीकान्त, पावरसेल बंगलादेशका मोहम्मद हसिन, भारतीय कम्पनी सतलजका अध्यक्ष नन्दलाल शर्मालगायत मुख्य वक्ता रहनेछन् ।

सम्मेलनमा क्षेत्रीय विद्युत व्यापार, विद्युत बजार, विद्युत बजार नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरु सञ्चालन र व्यवस्थापन, ऊर्जामा लगानी तथा विभिन्न आयोजना प्रदर्शनी रहनेछन् । सम्मेलनमा विशेषगरी भारत र बंगलादेशमा बिजुली निर्यातको विषयमा मुख्य छलफल हुने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिनुभयो ।

‘धेरैजसो सम्मेलनमा छलफल मात्रै हुन्छ भन्ने बुझाई छ, तर यो सम्मेलनले हामीले नेपालको ऊर्जा विकासमा देखिनेगरी योगदान पुग्नेगरी योगदान दिनेछ, सम्मेलनमा आउने पाहुनाले नै यसको पुष्टि हुन्छ’, अध्यक्ष गुरागाईँले भन्नुभयो ।

यस्तै इप्पानका महासचिव आशिष गर्गले यो सम्मेलनमा भारत र बंगलादेशले नेपालबाट बिजुली किन्न गरेको प्रस्ताव टुंगो लाग्ने सम्भावना रहेको र द्विपक्षीय तथा त्रिपक्षीय व्यापारको बारेमा पनि समझदारी हुने जानकारी दिनुभयो । यस्तै केही आयोजना निर्माणको लागि सहमति हुन सक्ने पनि उहाँले दाबी गर्नुभयो ।

‘भारतले नेपालबाट सन् २०३४ सम्म १५ हजार ६ सय मेगावाट बिजुली किन्ने भनेको छ, यस्तै बंगलादेशले ९ हजार मेगावाट बिजुली किन्ने भनेका छन्, त्यो बिजुली कसरी उत्पादन गर्ने, कसरी किनबेच गर्ने र त्यसका लागि कस्ता सहमति गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा विस्तृत छलफल हुनेछ’, महासचिव गर्गले भन्नुभयो ।

सम्मेलनमा नेपालसहित विभिन्न देशका ७ सयभन्दा धेरै सहभागी हुनेछन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया