मुल्यवृद्धि उकालो लाग्यो,  रेमिट्यान्स घट्याे, विदेश जाने बढे

 कात्तिक ६, २०७६ बुधबार १७:३५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चालु आर्थिक वर्षको पहिलो २ महिना अर्थात् साउन र भदौमा मूल्यवृद्धिकाे क्रम बढेको छ ।

नेपाल राष्ट्र बैंकले निकालेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा २ महिनामा ६ दशमलव १६ प्रतिशत मूल्यवृद्धि भएको छ । अघिल्लाे वर्ष मूल्यवृद्धि ३ दशमलव ८६ प्रतिशत रहेको थियो ।

२ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ५ दशमलव ८९ प्रतिशत रहेको छ । २ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यगरी तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ ।

काठमाण्डौ उपत्यकामा ७.९० प्रतिशत, तराइमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशत मुल्यवृद्धि रहेको छ । २०७५ भदौमा यी क्षेत्रमा क्रमशः २.९८ प्रतिशत, ३.६८ प्रतिशत, ५.० प्रतिशत र ३.३५ प्रतिशत रहेको थियो ।

रेमिट्यान्स घट्यो

चालु आर्थिक वर्षको पहिलो २ महिनामा रेमिट्यान्स घटेको छ । राष्ट्र बैंकले रेमिट्यान्स आयात पोहोरको २ महिनाको तुलनामा ० दशमलव ३ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब ७३ करोडमा झरेको जनाएको छ ।

पोहोर यो समयमा रेमिट्यान्स साढे ३३ प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १.३ प्रतिशतले कमी आएको छ । यस्तै २ महिनामा खुद ट्रान्सफर प्राप्ति शून्य दशमलव ८ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब ३९ करोड पुगेको छ । 

यस्तै २ महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.० प्रतिशतले घटेको थियो ।

२ महिनामा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या  पोहोरको सुरुका २ महनिामा भन्दा १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया