नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्रदान

 कात्तिक ६, २०७६ बुधबार १८:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले अन्तर्राष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ ।

वर्ल्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्व्न्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान गरी नेपाललाई त्यो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।

सर्बियामा आयोजित वर्ल्ड फ्यूचर काउन्सिलको १४१ औँ सम्मेलनका क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई नेपालले प्राप्त गरेको अवार्ड प्रदान गरिएको थियो । त्यही अवार्ड बुधबार अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक समारोहकाबीच हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विश्वस्तरको त्यो अवार्ड शान्ति, समावेशिता र विकास नीतिमा नेपालले लिएको सही बाटोको सम्मान भएको उल्लेख गर्दै सम्पूर्ण नेपाली नागरिकलाई बधाई दिनुभयो । उहाँले नेपालको संविधानले शान्ति, समानता र विकासको क्षेत्रमा लिएको भविष्यसम्बन्धि सही नीतिको सम्मानको रुपमा आफूले सो अवार्डलाई लिएको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली नागरिकले प्राप्त गरेको सफलताको सम्मानको रुपमा त्यो अवार्ड प्राप्त भएको उल्लेख गर्दै नेपाली जनताले शान्ति, समानता र विकासका लागि गरेका संघर्षको प्रतिफलको रुपमा त्यस अवार्ड हात पार्न सफल भएको पनि बताउनुभयो ।

नेपालको संविधानले द्वन्द्व व्यवस्थापन, युवा सहभागिता र अधिकारबारे प्राप्त गरेको सफलताको सम्मान गर्दै नेपाललाई वर्ल्ड फ्यूचर काउन्सिलले त्यस विश्वस्तरको अवार्ड प्रदान गरेको हो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया