शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार

 कात्तिक ८, २०७६ शुक्रबार २०:२३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल हुनु भएको छ । 

शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पार्नुभएको छ । यसका साथै उहाँले २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि हात पार्नु भएकाे छ ।

यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल हुनुभएको छ । उहाँले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरकाे जीवन बीमा हात पार्नु भएको छ । 

विनोद दनुवार (उदयपुर) ले भने प्रतियोगितामा तेस्रो स्थान हात पार्नुभयो । उहाँले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गर्नु भएकाे छ । 

यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल हुनुभयो । उहाँले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल हुनु भएको छ । 

फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) बीच प्रतिस्पर्धा भएको थियो ।  

‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित भएका हुन् ।  

नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहनुभएको थियो । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका थिए ।  
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया