क्षमताभन्दा बढी चिज उत्पादन

 कात्तिक ११, २०७६ सोमबार १५:२२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६, पाङ्लेखर्कमा रहेको चिज उत्पादन केन्द्रले चिज उत्पादन बढाउँदै लगेको छ । वार्षिक १० हजार केजी उत्पादन क्षमता रहेको केन्द्रले क्षमताभन्दा बढी चीज उत्पादन गर्दै आएको छ ।

केन्द्रका अनुसार यो वर्ष ११ हजार केजीभन्दा बढी चिज उत्पादन भएको छ । यो वर्ष ११ हजार ३ सय ८० केजी चिज र ३ हजार ९ सय ५३ केजी मख्खन उत्पादन भएको केन्द्रले जनाएको छ । यही अवधिमा गत वर्ष ११ हजार ६० केजी चिज र ३ हजार ८ सय ५८ केजी मख्खन उत्पादन गरेको थियो ।

यो वर्ष ८७ लाख ५० हजार ५ सय ६५ रुपयाँ मूल्य बराबरको चिज तथा मख्खन उत्पादन भएको केन्द्र प्रमुख जितबहादुर जिरेलले बताउनुभयो । गत वर्ष ६३ लाख २८ हजार २ सय ७७ रुपयाँ मूल्य बराबरको चिज तथा मख्खन उत्पादन गरेको थियो ।

चौरी पाल्ने कृषक बढ्दै गएका कारण उत्पादन पनि बढ्दै गएको उहाँको भनाइ छ । ‘उत्पादन क्षेत्रमा चौरी पाल्ने कृषक बढेका छन्’, उहाँले भन्नुभयो, ‘यसकारण दूध संकलन पनि बढ्दै गएको छ ।’

पहिले कृषक आफैले छुर्पी बनाएर बेच्थे । पछिल्लो समय केन्द्रले दूधको मूल्य बढाएका कारण वरिपरि रहेका सबै कृषकले केन्द्रलाई दूध उपलब्ध गराउँछन् । जिल्लामा पछिल्लो समय चिज उत्पादन केन्द्रसमेत बढेका छन् ।

पहिले चारवटा केन्द्र रहेकोमा अहिले सातवटा पुगेका छन् । दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा र निजीतर्फ एउटा सञ्चालनमा छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया