प्रधानमन्त्रीकाे स्वास्थ्य : लगातार डायलाइसिस वा पुन: प्रत्याराेपण गर्नु पर्ने

 कात्तिक १४, २०७६ बिहिबार १५:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार दोस्रो पटक डायलाइसिस गरिएको छ । बुधबार पहिलोपटक डायलाइसिस गरिएको उहाँको बिहीबार दोस्रो पटक डायलाइसिस गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।  

प्रधानमन्त्री ओलीको रगतमा पानीको मात्रा धेरै भएकाले रगतलाई शुद्ध बनाउन डायलाइसिस गरिएको हो । बुधबार गरिएको डायलाइसिसबाट रगत शुद्ध नभएपछि बिहीबार दोस्रो पटक डायलासिसअन्तर्गत पर्ने अल्ट्रा फिल्ट्रेसन गरिएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले उज्यालोलाई जानकारी दिए । उहाँको हिजो पनि अल्ट्रा फिल्ट्रेसन गरिएको थियो ।

तर प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे भने अस्पतालले कुनै औपचारिक जानकारी गराएको छैन । प्रधानमन्त्रीको सचिवालयले पनि उहाँको स्वास्थ्यअवस्थाबारे कुनै औपचारिक जानकारी दिएको छैन । 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी नआउँदा उहाँको स्वास्थ्यमा के भएको हो भन्नेबारे जनचासो बढ्दै गएको छ । ग्राण्डी अस्पतालको आईसीयूको बेड नम्बर १४१६ मा उपचाररत प्रधानमन्त्रीको वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ एवं उहाँका निजी चिकित्सक डा. दिव्या सिंह शाह, वरिष्ठ कलेजो तथा पेट रोग विशेषज्ञ डा. दिलिप शर्मा र युरोलोजिस्ट तथा वरिष्ठ चिकित्सक डा. प्रेम ज्ञवालीलगायतको टोलीले उपचार गरिरहेको छ ।  

बुधबार ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक तथा ग्राण्डी अस्पतालको मिर्गौला विभाग प्रमुख प्राध्यापक डा.दिव्या सिंंह शाहले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र जाँचका रिपोर्टहरु आएपछि थप उपचारको विधि अपनाइने जानकारी दिनुभएको थियो ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली पछिल्लो एक वर्ष यता निरन्तर स्वास्थ्य जाँचमै हुनुहुन्छ । गएको वर्ष असोजमा पनि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पाँच दिन राखेर उपचार गरिएको थियो ।

त्यतिबेला चिकित्सकहरुले हरेक दिन प्रधानमन्त्रीको स्वास्थ्यको अपडेट प्रेस नोटमार्फत गराउने गरेका थिए । तर अहिले भने सूचना दिन निजी चिकित्सक र प्रधानमन्त्रीकै सचिवालयले लुकाइरहेको छ । 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गएको साउन र भदौमा २ पटक सिंगापुरमा लगेर उपचार गराइएको थियो । सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरेर प्रधानमन्त्री  ओली फर्कनुभएको थियो । 

त्यसपछि पनि उहाँको त्रिवी शिक्षण अस्पतालमा दुई पटक स्वास्थ्य परीक्षण गराउनुका साथै छाउनीमा रहेको सैनिक अस्पतालमा मिर्गौलाको बायोप्सी पनि गरिएको थियो । बुधबार उहाँको स्वास्थ्यमा फेरि समस्या देखिएपछि भने ग्राण्डी अस्पताल पुर्याइएको हो । चिकित्सककै सिफारिसमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएको हो । 

प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकका अनुसार अब प्रधानमन्त्री ओलीको मिर्गौला नियमित डायलाइसिस गराउनु पर्छ । अहिले उपचारपछि आउने रिपोर्ट हेरेर त्यो कति दिनमा गर्ने भन्ने तय हुने छ । 

नियमित डायलाइसिस गर्ने वा खराब भएको मिर्गौला प्रत्यारोपण गर्ने भन्ने कुराको निर्णय अब आउने रिपोर्टले बताउने पनि उनले जानकारी दिए । एक पटकभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने काम जोखिम मानिए पनि २/३ पटकसम्म मिर्गौला प्रत्यारोपण गरेका उदाहरणहरु रहेकाले प्रधानमन्त्रीको पनि पुनः मिर्गौला प्रत्यारोपण गर्न सकिने नसकिनेबारे रिपोर्ट अध्ययन पछि निर्क्याैल गरिने अस्पतालका एक चिकित्सकले जानकारी दिए ।  

प्रधानमन्त्री ओलीको स्वास्थ्य गम्भीर बन्दा पनि औपचारिक जानकारी नगराइएको भन्दै सामाजिक सञ्जालमा विभिन्नखाले प्रतिक्रिया आउन थालेको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार अस्पताल पुगेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेता भीम रावल प्रधानमन्त्रीलाई भेट्न नपाइ फर्कनु परेको छ । 

प्रधानमन्त्रीको उपचार निकै गोप्य रुपमा भइरहेको पार्टीका नेताहरुले भेट गर्नै नपाएबाट पनि स्पष्ट पारेको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया