प्रदेश २ सरकारले ‘लुटतन्त्र’ मच्चायो : नेता साह

 कात्तिक १५, २०७६ शुक्रबार १६:४७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ सरकारले ‘लुटतन्त्र’ मचाएको आरोप लगाउनु भएको छ ।

नेकपा कचोर्वाद्वारा शुक्रबार कचोर्वामा दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेकपा नेता साहले मानव विकास सूचकांकमा पछाडि रहेको प्रदेश २ लाई अगाडि बढाउनुको साटो प्रदेश सरकारले लुटतन्त्र मच्चाएको आरोप लगाउनुभयो ।

‘प्रदेश २ मानव सूचकांकमा पछाडि परेको छ, शिक्षा, स्वास्थ्य, यातायातलगायतको क्षेत्रमा विकासका लागि खर्चको आवश्यक्ता छ’, प्रदेश अध्यक्ष साहले भन्नुभयो, ‘तर दुर्भाग्य यहाँको प्रदेश सरकार विकासको नाममा लुटतन्त्र मच्चाएको छ, बजेट जति जथाभावी गर्ने र कार्यकर्ता पाल्ने काम बाहेक अरु केही हुन सकेको छैन ।’

केन्द्रसँग सधैँ गुनासो गर्ने प्रदेश सरकारले सरकार बनेको दुई वर्षमा के काम गर्यो भन्ने प्रश्न गर्दै उनले अब नागरिकले हिसाब खोज्ने बेला भइसकेको बताउनुभयो । संघीय सरकारका साथै कम्युनिष्ट नेतृत्वको अन्य प्रदेशले विकासको दिशामा अगाडि बढिरहँदा प्रदेश २ सरकार भने भ्रष्टाचारमा डुबेको नेता साहले बताउनुभयो ।

उहाँले हुलाकी राजमार्ग, काठमाण्डौ–तराई मधेस फास्ट ट्रयाक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, समृद्ध सदरमुकामलगायतका आयोजनाहरु संघीय सरकारको नेतृत्व गरिरहेको कम्युनिष्ट सरकारले पूरा गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया