कास्की-२ मा चुनावको रौनक: दलहरु चुनाव प्रचारमा, कांग्रेसले अझै उम्मेदवार छान्न सकेन

 कात्तिक १७, २०७६ आइतबार २०:१५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधिसभा सदस्यका लागि कास्कीको क्षेत्र नम्बर-२ मा हुन लागेको उपचुनावमा दलहरुले आ–आफ्ना उम्मेदवार टुंगो लगाउन थालेका छन् । 
मनोनयनको दिन नजिकिँदै जाँदा दलहरुलाई उम्मेदवार चयन गर्न दबाब छ । 

कास्की-२ मा सबैभन्दा पहिले साझा पार्टीले आफ्नो उम्मेदवार टुंगो लगाएको हो । साझाले प्रतिनिधिसभा उम्मेदवारमा रजनी केसीलाई अघि सारेको छ । केसीले मतदाताको घरदैलोमै पुगेर भोट माग्नसमेत थालिसक्नुभएको छ । 

यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सत्ता सहयात्री दल संघीय समाजवादी पार्टी कास्की २ का लागि उम्मेदवार चयन गरिसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार घोषणा गरिसकेको छ । संघीय समाजवादी पार्टीले धर्मराज गुरुङलाई उठाउने निर्णय गरे पनि घोषणा भने गरेको छैन । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर गएको फागुन १५ गते निधन भएपछि कास्की क्षेत्र नम्वर २ रिक्त छ । कास्की २ सहित देशका विभिन्न स्थानमा रिक्त रहेका कार्यकारी पदमा आउँदो मंसिर १४ गते उपचुनाव हुन लागेको हो । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की २ मा स्व.रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उठाउने निर्णय गरेको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । क्षेत्रीय समितिले सर्वसम्मत भट्टराईकै नाम सिफारिस गरेकाले सचिवालयले भट्टराईलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । 

अन्य दलले भटाभट उम्मेदवार टुंगो लगाईरहँदा नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाउन सकेको छैन । चुनावमा उठ्न १६ जनाले आकांक्षा देखाएपछि उम्मेदवारको टुंगो लगाउन कांग्रेसलाई कठिन बनेको छ । 

कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिए पनि पदाधिकारीको बैठक बस्न सकेको छैन । आइतबारका लागि आह्वान गरिएको पदाधिकारी बैठक पनि बस्दै नबसी स्थगित भएको छ । 

अन्य दलले मतदाता रिझाउँदै घरदैलो गर्न थालिसक्दा पनि पार्टीले उम्मेदवार टुंगो नलगाउँदा कास्कीका जिल्ला नेताहरु केन्द्रसँग आक्रोसित बनेका छन् । छिटो उम्मेदवार टुंगो नलागे मतदाताको घरदैलोमा पुगेर भोट माग्न नसकिने नेताहरुको भनाइ छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया