रौतहट बम काण्ड : आलमविरुद्ध ३ वटा कसुरमा मुद्दा दायर

 कात्तिक १८, २०७६ सोमबार १५:५०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - सरकारी वकिल कार्यालय रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा साेमबार मुद्दा दर्ता गरेको छ ।

आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिनुभएको छ ।

आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । समय अभावका कारण थुनछेक बहस भने सोमबार नभई मङ्गलबारबाट मात्रै हुने भएको छ । बाह्र वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।

आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिल कार्यालयले आलमसहित उनका भाई मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशङ्कर साहसमेत विरुद्ध मुद्दा दर्ता गरेको उहाँले जानकारी दिनुभयो । गौरीशङ्कर साहविरुद्ध भने मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया