पासाङ ल्हामु मार्ग सुधार गरिने

 कात्तिक २२, २०७६ शुक्रबार १०:४७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – शनिबारदेखि पासाङ ल्हामु मार्ग सुधार गरिने भएको छ । बेत्रावतीदेखि स्याफ्रुबेसीसम्मको सडकको सुधारको लागि कालिका र गोसाईंकुण्ड गाउँपालिकाले अभियान नै सञ्चालनमा ल्याएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवालासँगको छलफलपछि सडक सुधारको अभियान सुरु गर्ने निर्णय गरेको हो । स्याउबारीदेखि स्याफ्रुबेसीसम्मको सडक जीर्ण छ । सडक जीर्ण हुँदा समेत सडक डिभिजन कार्यालयले काम गर्न नसकेको भन्दै सरोकारवालाले आक्रोश पोखेका छन् ।

यो सडक खण्डमा बढी खाल्डाखुल्डी भएकाले सडकमा ग्राभेल गर्न आवश्यक देखिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । उहाँको अनुसार राम्चे, ग्राङ, सोले, धुन्चे र ठूलो भार्खुमा ग्राभेल गरिने छ । 

सडक डिभिजन कार्यालय नुवाकोटसँगको समन्वयमा डोजर, एक्स्काभेटर, टिप्पर, लोडरलगायतका सामग्री जुटाइने छ । यसका लागि जिल्लामा रहेका जलविद्युत् आयोजना, गाउँपालिका तथा सरोकारवासँग अनुरोध गरिने छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया