जंगली जनावरको आतंक र बसाइँसराइका कारण बैतडीका खेतीयोग्य जमिन बाँझै

 कात्तिक २२, २०७६ शुक्रबार ११:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – जंगली जनावरको आतंक र बसाइँसराइका कारण बैतडीका अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको छ । पछिल्लो समय खेतीयोग्य जमिन बाँझै रहन थालेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।  ।

जिल्लामा झण्डै ३१ हजार ४ सय ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको भए पनि अहिले २५ हजार ७ सय हेक्टर क्षेत्रफलमा  मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । 

उहाँकाअनुसार जंगली जनावरहरु बाँदर र बदेँलको आतंकले बढीजसो खेतीयोग्य जमिन बाँझै छाड्ने गरेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा २० हजार ९ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको भए पनि अहिले घटेर १७ हजार ५ सय हेक्टरमा मात्रै गहुँ खेती गरिन्छ । 

यस्तै बैतडीको प्रमुख खाद्यबाली मकै उत्पादन हुने क्षेत्रफल पनि घटेको छ । आर्थिक वर्ष २०७४/०७५ मा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको भए पनि अहिले घटेर १२ हजार २ सय हेक्टरमा मात्रै गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको  छ  । 

बैतडीको पाटन, हाट, सलेना, गोकुलेश्वर, रुद्रेश्वर, उदयदेव, विशालपुर धान र गहुँ खेतीका  पकेट क्षेत्र हुन् भने जिल्ला सबैजसो स्थानमा मकै खेती गरिन्छ । बैतडीमा धान खेती भने ९ हजार हेक्टर क्षेत्रफमा पहिलाकै जति गरिँदै आइएको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया