शेयर बजारको ओरालो यात्रा रोकिएन, आज साढे १९ अङ्कले घट्यो
बैशाख ६, २०८१ बिहिबार
स्याङ्जा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले लिपुलेक र कालापानी नेपालको भएको बताउनुभएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ मा रहेको आलमदेवी मन्दिरको तस्बिर अंकित हुलाक टिकट सार्वजनिक गर्दै मन्त्री अर्यालले सुगौली सन्धिमा कालीगण्डकी नदी नेपाल र भारतको सीमा भएको उल्लेख भएको आधारमा पनि ती क्षेत्र नेपालकै भएको उहाँको भनाइ थियो ।
राष्ट्रियता कमजोर हुन नदिने र भूमि अतिक्रमण वर्तमान सरकारलाई अमान्य हुने भन्दै मन्त्री अर्यालले सीमा क्षेत्रमा देखिएको विवादका बारेमा सरकारले जनहितको निर्णय गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कालापानीमा देखिएको समस्याका बारेमा सरकार चुप लागेर नबस्ने बताउनुभएको छ ।
प्रवक्ता बाँस्कोटाले सीमा विवादमा देखिएको समस्या समाधान गर्न सरकारले कुटनीतिक र राजनीतिक हिसाबले कदम चाल्ने स्पष्ट पार्नुभयो ।
विश्वका महाशक्ति राष्ट्रहरुले चलाएका युद्ध पनि छलफल र वार्ताकै माध्यमबाट समाधान भएको भन्दै मन्त्री बास्कोटाले अहिले देखिएको समस्या सल्टाउन सरकार सक्रियताका साथ अघि बढेको दाबी गर्नुभयो ।
कार्यक्रममा मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाली सेनाका प्रधानसेनापति लगायतको सहभागिता थियो ।
यही ३१ अक्टोबरमा जम्मू-कश्मीर र लद्दाख औपचारिक रुपमा केन्द्रशासित प्रदेश भैसकेपछि गएको शनिबार मात्र भारतले नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । भारतले नयाँ नक्सामा नेपाली भूमिमा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेपछि नेपाली पक्षले लगातार विरोध गर्दै आइरहेको छ ।
नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपालको भएको र भारतको एकतर्फी निर्णय नमान्ने बताइसकेको छ । दुई देशको बीचमा देखिएको सीमा विवाद अन्त्य गर्न दुवै देशका मन्त्रीस्तरीय छलफल गर्ने सरकारले प्रतिबद्धता जनाइसकेको छ ।
यही सीमा विवादलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले आपत्ति जनाउँदै विरोध र्याली निकालिसकेको छ ।
त्यस्तै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले भारतीय दूतावास अघि भारतको नयाँ नक्सा जलाएको थियो । विभिन्न राजनीतिक दल लगायतले सीमा विवादलाई लिएर ‘ब्याक अफ् इण्डिया’ अभियान नै चलाएका छन् ।