नेपाल-युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाण्डौमा सुरु

 कात्तिक २२, २०७६ शुक्रबार १६:९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र युरोपेली संघ संयुक्त आयोग बैठक काठमाण्डौमा सुरु भएको छ । हरेक दुई वर्षको अन्तरालमा हुने यो बैठक यो वर्ष काठमाडौमा भएको हो । 

बैठकमा नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास वैरागीले गर्नुभएको छ भने युरोपेली संघको तर्फबाट एसियाप्रशान्त क्षेत्र हेर्ने नायब निर्देशक पाओला पम्पालोनीले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । 

यो बैठकमा मुख्यगरी युरोपेली संघले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक तथा विकास सहायता र संयुक्त लगानीको विषयमा छलफल हुनेछ । यसका साथै युरोपेली संघले विश्वव्यापी रुपमा वकालत गर्दै आएको पर्यावरण संरक्षण सम्बन्धी नेपालमा हुँदै आएको कार्यक्रमको मूल्यांकन पनि गरिनेछ । 

युरोपेली संघले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको व्यापार-वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संशाधन विकासका क्षेत्रमा सञ्चालित कार्यक्रमको बारेमा पनि छलफल हुने कार्यतालिका छ । नेपाल र युरोपेली संघबीच सन् १९७५ मा कुटनीतिक सम्बन्ध स्थापना भए यता संघले नेपालको आर्थिक एवं सामाजिक विकासको क्षेत्रमा सहयोग गर्दै आएको छ । 

संघले यसका अलावा नेपालको राजनीति र विकसित घटनाहरुमा समेत आफ्नो धारणा सार्वजनिक गर्ने गरेको छ र यो सधैं चर्चा र विवादित बन्ने गरेको छ । 

पारस्परिक लाभका विषयमा सहयोग आदानप्रदान गर्न सन् १९८६ मा युरोपेली संघ संयुक्त आयोगको स्थापना भएको हो । यसको प्रधान कार्यालय ब्रसेल्समा रहेको छ । अर्को दुई वर्षपछि नेपाल सरकार युरोपेली संघ संयुक्त आयोगको बैठक ब्रसेल्समा बस्ने छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया