३ वटा ब्रुमरले सफाइ गरिरहेका छन्: ललितपुर महानगरपालिकाका प्रवक्ता महर्जन

 कात्तिक २२, २०७६ शुक्रबार १६:५९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर महानगरपालिकाले केही समययता सडक निर्माण र सरसफाइलाई तीव्रता दिएको छ । ललितपुरका मुख्य सडकदेखि भित्री बाटोहरूमा धुलो उड्न नदिन ब्रुमरको प्रयोग बढेको छ । सडकमा पानी हालेर सरसफाइ गर्ने काम पनि भइरहेकाे छ ।

यसै सन्दर्भमा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनसँग हामीले महानगरपालिकाले प्रयोग गरिरहेको ब्रुमरका बारेमा कुराकानी गरेका छाैँ ।

अहिले कतिवटा ब्रुमरले सडकको धुलो सफा गरिरहेका छन्?

अघिल्लो वर्ष सडक विभागले दिएको एउटा र यो वर्ष महानगरपालिकाले जेन टेक प्रालिमार्फत टेन्डर प्रक्रियाबाट खरिद गरेको २ वटासहित जम्मा ३ वटा ब्रुमरले अहिले काम गरिरहेका छन् ।

एउटा ब्रुमरको मूल्य कति पर्छ?

ललितपुर महानगरपालिकाले सडकमा रहेको धुलो सफा गर्न इटलीको ‘म्याक्रो’ कम्पनीले निर्माण गरेको ‘एम ६०’ मोडलको ब्रुमर खरिद गरेको हो । मूल्यको कुरा गर्दा दुईवटा ब्रुमरको जम्मा ४ करोड ४८ लाख ११ हजार दुई सय ८० रुपैयाँ परेको छ । लगानी अनुसारको कामको लागि हामी प्रयास गरिरहेका छाैँ ।

ब्रुमरले ललितपुर महानगरपालिकामा कुन समयमा कुनकुन ठाउँमा सडक सफा गरिरहेको छ ?

सरसफाइ अन्तर्गत कुपण्डोलबाट पुल्चोक हुँदै कुमारीपाटी र लगनखेलसम्म अनि पुल्चोकबाट गाबहाल, पाटन दरबार क्षेत्र र मंगलबजारमा नियमित ब्रुमर प्रयोग भइरहेका छन् । विशेषगरी बिहानको समयमा ५ बजेदेखि कार्यालय समय अघिसम्म ब्रुमर प्रयोग गरेर सडक सफा गरिन्छ ।

बिहान एक चोटिमात्र ब्रुमर चलाएर सडक सफा हुन्छ त?

एकचोटि ब्रुमर चलाउँदा पूर्ण रुपमा सडक सफा त हुँदैन तर सडकमा धुलो उड्न भने निकै कम हुन्छ । कार्यालय समयमा ब्रुमर चलाउँदा ट्राफिक जामको समस्या बढ्ने हुनाले हामीले बेलुका ७ बजेपछि पनि ब्रुमर चलाएर सडक सफा गर्न सकिन्छ तर ब्रुमरको क्षमताअनुसार यसलाई चलाउनु पर्ने भएकाले हामी परीक्षण गर्दैछाैँ ।

ब्रुमरको संख्या थप्ने योजना छ कि छैन?

अरु ठाउँमा पनि नियमित सडक सफा राख्न थप ब्रुमर आवश्यक छ । भएका ब्रुमरले नियमित काम गर्न थालेको २ महिनामात्र भयो । पहिला ब्रुमर चलाउन प्राविधिक चालक नभएर काम गर्न ढिलो भएको हो । 

अहिले प्राविधिक चालकले नै काम गरिरहेका छन् । चक्रपथ क्षेत्रको विभिन्न ठाँउमा ब्रुमरको माग भइरहेको छ । अहिले भएकै ब्रुमरको कार्य क्षमता हेरेर कुनकुन ठाँउमा चलाउन सकिन्छ त्यसबारे छलफल गर्छौँ । नयाँ ब्रुमर नै थप्ने कुरा चाहिँ सोच्नैपर्छ ।

ब्रुमर चल्ने सडकभन्दा बाहेकका सडकमा कसरी सरसफाइ भइरहेको छ ?

खासगरी ब्रुमर भनेको धुलाम्मे सडकमा धुलो कम गर्ने मात्र हो । त्यसैले सरसफाइको लागि प्राविधिक टोली नै खटाएर काम भइरहेको छ । ललितपुर महानगरपालिकाभित्र फोहोर थुपार्ने ठाउँबाट नियमित फोहोर उठाउने र सरसफाइका लागि जनचेतना कार्यक्रम पनि भइरहेको छ । 

केही समय अघि ब्रुमरले धुलो सफा गर्दा एकातिरबाट टिप्ने अर्कोतिरबाट उडाउने भयो भनेर आलोचना पनि भएको थियो नि?

एकतिरबाट ल्याएको धुलोले अर्कोतिर फोहोर गरेको अवस्था छैन । हामीले अहिले ब्रुमरले उठाएको फोहोर राम्ररी नै प्राविधिक तरिकाले व्यवस्थापन गरिरहेका छौँ । ब्रुमरले पहिलाभन्दा राम्रो काम गरिरहेको छ ।

सडकसँग सडक छेउछाउमा भएका रुख विरुवामा टाँसिएका धुलो कसरी सफा गर्न सकिन्छ ?

यसका लागि पानी नै प्रयोग गर्ने हो, तर हामीसँग उपलब्ध भएका मेशिनबाट पानीको ठूलो फोहरा आउँछ जसले विरुवामा असर गर्छ । त्यसैले विरुवा सफा गर्न  पानी हाल्ने उपयुक्त मेशिन नहुँदा र यसबारे जानकार प्राविधिक जनशक्ति पनि नहुँदा हामीले सोचे अनुरुप काम गर्न सकेका छैनाैँ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया