उपचुनाव : आज उम्मेदवारको अन्तिम नामावली, कास्कीमा तीन जनाको उम्मेदवारी बदर

 कात्तिक २४, २०७६ आइतबार ८:४३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावको लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । गएको बिहीबार उम्मेदवारको मनोनयन दर्ता भएको थियो । उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरी आइतबार अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । 

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं १ को १, दाङ निर्वाचन क्षेत्र नं ३ को २ र बागलुङ क्षेत्र नं २ को २ का लागि उपचुनाव हुन लागेको हो ।

कास्की २ मा तीन जनाको उम्मेदवारी बदर

कास्की क्षेत्र नम्बर २ मा तीन जनाको उम्मेदवारी बदर भएको निर्वाचन आयोगले जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फका बन्द सूचीमा नाम उल्लेख भएका गजेन्द्र लिम्बू, तत्कालीन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका नवराज घले (अहिले राष्ट्रिय नागरिक पार्टी)को तर्फबाट उम्मेदवारी दिएका र राष्ट्रिय मुक्ति आन्दोलन नेपालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका जयवन्त विक्रम शाह गरी तीन जनाको उम्मेदवारी बदर गरिएको आयोगले जनाएको छ । अब त्यहाँ २२ जना उम्मेदवार छन् ।

कास्की २ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, काङ्ग्रेस(बीपी)का चन्द्रबहादुर रानाभाट, साझा पार्टीकी रजनी केसी, नेकपा(माले)का टेकनाथ भण्डारी, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)की गङ्गा मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ ।

आयोगका अनुसार स्वतन्त्रबाट कमल जंग, जमुना शर्मा सुनिलबहादुर कोइराला, उमानाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, लक्ष्मीकुमारी भुजेल, सुनिल भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रदेशसभाको तीन ठाउँमा को–को उम्मेदवार ?

प्रदेशसभा अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं १ को लागि नेकपाका तर्फबाट देवीप्रसाद ढकाल, काङ्ग्रेसका कृष्णलाल भडेल, नेपाल मजदूर किसान पार्टीका नीरज लवजूले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, कृष्णप्रसाद ह्योगो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजु, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, सङ्गीता पौडेल, जीवनचन्द्र अधिकारीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेकपा(माले)का सुदर्शन लामिछाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, काङ्ग्रेस (बिपी)का मधुसुदन न्यौपाने गरी कूल १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, बागलुङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा नं २ का लागि १० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, काङ्ग्रेसका जितबहादुर शेरचन, राप्रपा (संयुक्त)का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारीले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ । यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्ती स्वतन्त्र र मङ्गोल नेशनल अर्गनाइजेशनका तर्फबाट मित्रबहादुर मगरले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, दाङको निर्वाचन क्षेत्र नं ३ को २ प्रदेशसभाका लागि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी कूल १४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यो चुनाव क्षेत्रमा नेकपाका तर्फबाट विमलाकुमारी ओली, काङ्ग्रेसका केशवराज शर्माले उम्मेदवारी दिनुभएको छ । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विकले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, नेपाल मजदूर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का छोटीलाल थारु, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद डाँगी, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मङ्गोल नेशनल अर्गनाइजेशनका घनश्याम चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्रबहादुर खत्री, काङ्ग्रेस (बिपी)का दीपकुमार धितालले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, टीकाराम आचार्य, गोविन्द केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पालिकाका चारजना प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडाअध्यक्ष गरी ३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते उपचुनाव हुनेछ । पालिकाका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने आउँदो बुधबार हुनेछ । निर्वाचन आयोगले उपचुनावका लागि २४७ वटा मतदान स्थल र ५३७ वटा मतदान केन्द्र तोकेको छ । ४ लाख ५४ हजार ११४ जना मतदाताले उपचुनावमा भाग लिनेछन् । आयोगले गएको ८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । उपचुनावको लागि आउँदो मंसिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया