संखुवासभाकाे मकालु गाउँपालिकामा क-कसकाे उम्मेदवारी पर्‍याे?

 कात्तिक २७, २०७६ बुधबार १५:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा - आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि संखुवासभाकाे मकालु गाउँपालिका अध्यक्षकाे पदका लागि सात राजनैतिक दलले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट बिमान पराजुली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट तेजबहादुर पोख्रेल, संघीय समाजवादी फोरमबाट नुर्बा शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त (हलो चिन्ह) बाट मानबहादुर बिश्वकर्मा, राष्टिय जनमुक्ति पार्टी रमेश राई, राप्रपा (गाई) बाट मेघनाथ राई र संघीय लोकतान्त्रिक मञ्चबाट कविता राईले उम्मेदवारी दर्ता गराएका हुन् । 

त्यसैगरी खाँदबारीमा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खाँदबारी नगरपालिका वडा नम्बर-३ बाट नेपाली कांग्रेसका उम्मेदवार बिक्रम गुरुङ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार भरतकुमार घिमिरे दर्ता गराउनुभयाे । खाँदबारी–३ मा नेकपा र कांग्रेसले मात्रै उम्मेदवारी दर्ता गराएकाले दुई दलको मात्रै प्रतिस्पर्धा हुने देखिएको छ । 

मकालु गाउँपालिका अध्यक्ष खडगबहादुर कटवाल तथा खाँदबारी नगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष तोयनाथ ढुङगानाकाे मृत्युपछि खाली रहेका पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र अन्य पाँच राजनैतिक दल गरी सात वटा दलले मनोनयन दर्ता गराएका हुन् । 

मकालु गाउँपालिकाका उम्मेदवारले मकालु गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउन उम्मेदवारहरु पार्टी कार्यकर्ता र झण्डा र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उम्मेदवारको मनोनयन दर्ता पछि पनि पार्टी कार्यकर्ताले झण्डा र र्‍यालीसहित बजार परिक्रमा गरेका थिए । 

निर्वाचन आयोगले उपनिर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समयसीमा तोकेको थियो ।

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया