बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपतिको शिष्टाचार भेट

उपराष्ट्रपतिलाई बंगलादेश भ्रमणको निम्तो

 कात्तिक २७, २०७६ बुधबार १७:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शिष्टाचार भेट गर्नुभएको छ ।

नेपालको राजकीय भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति हमिदसँग उपराष्ट्रपति पुनले बुधबार दिउँसो शिष्टाचार भेट गर्नुभएको हो । नागपोखरीमा रहेकाे होटेल मेरियटमा करिब आधा घण्टा भएको भेटमा दुईपक्षीय आपसी सम्बन्ध, सहयोग र सहकार्यका विविध आयाममा छलफल भएका थिए ।

भेटमा बंगलादेशका राष्ट्रपति हमिदले नेपालको भ्रमण गर्न पाउँदा अत्यन्त हर्षित रहेको बताउनुभयो । सन् २०७१ मा बंगलादेश स्वतन्त्र भएपछि बंगलादेशलाई राष्ट्रको मान्यता दिने नेपाल सातौँ राष्ट्र भएको स्मरण गर्नुहुँदै उहाँले नेपाललाई धन्यवाद दिनुभयो । 

दुई देशबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउनुहुँदै राष्ट्रपति हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपालको राष्ट्रिय आकांक्षामा बंगलादेशको सधैँ साथ, सहयोग र सहकार्य हुने बताउनुभयो । उहाँले बंगलादेश र नेपाल सधै साथ साथमै रहेको बताउनुभयो । 

राष्ट्रपति हमिदले नेपालको जलविद्युत क्षेत्रबाट बंगलादेशले पनि लाभ लिन खोजिरहेको बताउनुभयो । उहाँले नेपालका थुप्रै विद्यार्थीहरुले बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेको बताउनुहुँदै बंगलादेशले छात्रावृत्ति प्रदान गर्दै आइरहेको स्मरण गर्नुभयो । 

राष्ट्रपति हमिदले उपराष्ट्रपति पुनलाई बंगलादेश भ्रमणको लागि निमन्त्रणा समेत गर्नुभयो । उहाँले बंगलादेशले नेपालसँग रेलवे, सडक, हवाई र जलमार्गमार्फत सञ्जाल विस्तार गर्न चाहिरहेको बताउनुभयो । 

बंगलादेशका राष्ट्रपति हमिदसँगको भेटमा उपराष्ट्रपति पुनले सन् २०७२ मा कायम भएको दुई देशबीचको दौत्य सम्बन्ध अहिले प्रगाढ भएको र जनस्तरसम्म फैलिएको बताउनुभयो । उहाँले निकटमित्र राष्ट्रहरुको रुपमा आगामी दिनमा दुई देशबीचको सहयोग अझै सुदृढ् गर्दै जानुपर्ने बताउनुभयो । 

राष्ट्रपति हमिदको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने अपेक्षा गर्नुहुँदै उपराष्ट्रपति पुनले सन् १९७१ मा बंगलादेशलाई राष्ट्रको मान्यता दिने नेपाल सातौँ राष्ट्र भएको स्मरण गर्नुभयो ।

उपराष्ट्रपति पुनले बंगलादेशले हासिल गरेको आर्थिक वृद्धि र विकासप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपति हमिदले बंगलादेशको स्वतन्त्रताका लागि गर्नुभएको महान् संघर्षको स्मरण गर्नुहुँदै त्यसपछिकाे सक्रिय राजनीतिक भूमिकाको प्रशंसा गर्नुभयो ।

उपराष्ट्रपति पुनले भौगोलिक रुपमा निकट रहेका दुई मुलुक संस्कृति, परम्परा तथा मूल्यहरुमा समेत समानता रहेको बताउनुभयो । उपराष्ट्रपति पुनले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिका लागि आफ्नो प्रयास जारी राखेको बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ नेपाल अघि बढिरहेको बताउनुभयो । 

साथै उहाँले नेपालको उर्जा क्षेत्र समृद्धिको आधार भएको र यसबाट बंगलादेश पनि लाभान्वित हुनसक्ने बताउनुभयो । नेपाल र बंगलादेश सडक, रेल, हवाइ तथा जलमार्गबाट जोडिन आवश्यक रहेको उल्लेख गर्नुहुँदै उपराष्ट्रपति पुनले गंगा नदीमार्फत नेपालका कोशी र गण्डकीलाई बंगलादेशको जमुना-पद्मा नदीहरुसँग जलमार्ग विकासमार्फत जोड्न सकिने बताउनुभयो ।

उहाँले सिंहावाद–रोहनपुर रेलमार्ग तथा सइदपुर–विराटनगर-भद्रपुर हवाइ मार्गको सञ्जाल बनाउन सकिने पनि बताउनुभयो । 

उपराष्ट्रपतिले बंगलादेश र नेपाल आकर्षक पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुहुँदै दुवै मुलुकहरुको लाभका लागि संयुक्त प्याकेज तथा प्रचार कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागिरहेकोले बंगलादेशबाट धेरै पर्यटक आउने अपेक्षा व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले नेपाल र बंगलादेशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका धेरै मुद्दाहरुमा समान दृष्टिकोण रहेको उल्लेख गर्नुहुँदै सार्क, बिम्स्टेक, संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा एक आपसी सहयोगलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । 

बंगलादेशको राष्ट्रपतिले गर्नुभएको भ्रमणको निमन्त्रणालाई स्वीकार गर्नुहुँदै उपराष्ट्रपति पुनले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभयो । भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत सहभागी हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया