यू १९ च्यालेञ्जर्स : नेपालको लगातार दोस्रो पराजय

 कात्तिक २८, २०७६ बिहिबार ६:५४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा भइरहेको अण्डर नाइन्टिन च्यालेञ्जर्स क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो पराजय भोगेको छ । भारत ए टिमसँगको खेलमा नेपाल १०७ रनले पराजित भयो । यो पराजयसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्यून बनेको छ । 

बेंग्लोरको राजिव गान्धी स्टेडियममा भारत ए टिमले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रनमा सीमित भयो । नेपालको इनिङमा विशाल विक्रम केसीले अर्धशतकीय योगदान दिँदा अन्यको प्रदर्शन बिर्सन लायक रह्यो । 

ब्याटिङ लाइनका अन्य खेलाडीहरु सस्तैमा आउट हुँदा यू–१६ टिमका कप्तान विशालले संयमित ब्याटिङ गरे । एक विकेट गएपछि क्रिजमा आएका विशालले ११ चौका प्रहार गर्दै ६९ रनको योगदान दिए । शेर मल्लले २१ रन र आकाश चन्दले १९ रन बनाउँदा अन्य कसैले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालका कप्तान रित गौतमले ५ रन बनाए । तीन खेलाडीले खाता नै खोल्न सकेनन् । हरिबहादुर चौहान, कुसल मल्ल र लोकेश बम शून्य रन मै आउट भए । त्यस्तै अरुण एैरी ७ तथा खडक बोहराले ३ रन मात्र जोड्न सफल भए ।

नेपाललाई हराउनका लागि भारत ए टिमका नितिस कुमार रेड्डी र समिर रिज्भीले दुई–दुई विकेट लिए भने दशरथ कुमार, कल्यान हाल्दर, कृतज्ञ कुमार सिंह र याशस्भी जैसवालले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत एले ४८ ओभर दुई बलमा सबै विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो । भारतका लागि ध्रुव चन्द्र जुरेलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै साई भारद्वाज सुदर्शनले ३४, यशस्वी जैशवालले ३३, नितिस कुमार रेड्डीले ३० रन जोडे ।

बलिङतर्फ शेर मल्लले तीन विकेट लिए भने आकाश चन्दले दुई विकेट हात पारे । प्रतिश जिसी र हरिबहादुर चौहानले पनि एक–एक विकेट लिए ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया