सोलुखुम्बु ट्रेल रेसको उपाधि दावा र ल्हमुलाई

 कात्तिक २८, २०७६ बिहिबार १९:१२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बुु ट्रेल रेसको पुरुषतर्फको उपाधि नेपाली धावक दावा शेर्पा र महिलातर्फको उपाधि ल्हमू शेर्पाले हात पारेका छन् । निर्धारित ३१० किलोमिटर दूरीदावा शेर्पाले २९ घण्टा ३३ मिनेट र ल्हमु शेर्पाले ४३ घण्टा ३० मिनेटमा पूरा गरेका हुन् ।  

पुरुषतर्फ ३४ घण्टा ४५ मिनेटमा पूरा गर्दै फ्रेन्च नागरिक मार्क दोस्रो र ३६ घण्टा ३२ मिनेटमा दूरीपूरा गर्दै नेपाली धावक पेम्बा शेर्पा तेस्रो भए । महिलातर्फ ४९ घण्टा ४५ मा दूरी पार गर्दै मिङ्मारल्हेमी शेर्पा दोस्रो र ५१ घण्टा ५६ मिनेटमा निर्धारित दूरीपूरा गर्दै पासाङल्हमू शेर्पा तेस्रो भएका आयोजक संस्था ‘द स्मल वर्ल्डका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिनुभयो । ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने पत्तालेको धापबाट सुरु भएको रेस सगरमाथाको आधार शिविर पुगेर पुनः फाप्लुमा आई बिहीबार समापन गरिएको हो ।

सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले दौड समापन गर्दै सोलुखुम्बुको पर्यटन प्रबर्द्धनमा सोलुखुम्बुु ट्रेल रेसले महत्वपूर्ण भूमिका खेल्ने र भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रचार प्रसारमा अझै जोड दिनुपर्ने बताउनुभयो ।  

३१० किलोमिटर दुरीको दौड पूरा गर्न धावकहरु चार हजार छ सय अग्लो पिके पिक, तीन हजार पाँच सय मिटर अग्लो लामाजुरा पास, जुनबेसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्र ताल दूधकुण्ड पोखरी हुँदैै पाँच हजार चार सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधारशिविर पुगेर गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुगेका हुन् । 

६२ जना विदेशी र पाँच जना नेपाली सहभागी दौडमा दुई जना विदेशी बिरामी भएको र अन्य सबैले दौड पूरा गरेको आयोजकले जनाएको छ । ७७ वर्षका फ्रेन्च नागरिक ज्याक समेत दौडमा सहभागी भएका थिए । 

दौडमा फ्रान्स, बेल्जियम, स्वीटजरल्यान्ड लगायतका यूरोपेली देशका धावक पनि सहभागी थिए । सोलुखुम्बुको पर्यटन प्रबर्द्धनका लागि भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरी प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया