नेपाल र भारतलाई चीनको सुझाव : कालापानी सीमा विवाद संवादमार्फत टुंगो लगाउ

 कात्तिक २८, २०७६ बिहिबार २०:६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतले नयाँ राजनीतिक नक्सा जारी गरेलगत्तैबाट देखिएको नेपाल भारतबीचको सीमा विवादका बारेमा उत्तरी छिमेकी देश चीनले मुख खोलेको छ । उसले दुवै देशबीच देखिएको सीमा विवादलाई आपसी सम्बादबाट सुल्झाउन नेपाल र भारत दुबैलाई सुझाव दिएको छ ।  

बिहीबार काठमाण्डौस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै पछिल्लो पटक भारतले जारी गरेको नयाँ राजनीतिक नक्सासँगै देखिएको कालापानी सीमा विवाद वार्ता मार्फत टुंग्याउनु पर्नेमा जोड दिएको हो । 

नेपाली भूमि आफूहरुले अतिक्रमण नगरेको प्रष्ट पार्दै चीनले नेपालको सार्वभौमसत्ता  र भौगोलिक अखण्डताको जहिल्यै पनि सम्मान गर्ने प्रतिबद्धता जनाएको छ । 

सम्बन्धित समाचार

 

साथै कालापानी क्षेत्रको सीमा विवाद नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र वार्ताको माध्यामबाट समाधान गर्नेछन् भन्ने सदिच्छा पनि उसले व्यक्त गरेको छ । 
विज्ञप्तीमा कालापानीबारे चासो देखाएको चीनले लिम्पियाधुरा र लिपुलेकका बारेमा भने उल्लेख गरेको छैन । 

साथै चीनले नेपालको भूमि मिचेको भनेर केही सञ्चारमाध्यममा आएको समाचार प्रति कुनै सत्यता नरहेको भन्दै विज्ञप्तीमा खण्डन पनि गरेको छ ।    

वर्षौँदेखि नेपाल र चीनबीच राम्रो सहकार्य हुँदै आएको अवगत गराउँदै चीनले बाहिरी हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको पनि प्रस्ट पारेको छ । 

सम्बन्धित समाचार

 

केही दिन अघिमात्रै आफ्नो राष्ट्रपतिले नेपालको सफल राजकीय भ्रमण गरेको स्मरण गराउँदै विज्ञप्तिमा त्यसक्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको समेत जनाइएको छ ।


 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया