आलममाथिकाे थुनछेक बहस सकियो, केही बेरमा आदेश आउने

 कात्तिक २९, २०७६ शुक्रबार १५:२३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई ज्युँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ ।

प्रतिवादी मोहम्मद अफताब आलमका तर्फबाट २८ जना अधिवक्ताले बहस गरेपछि वादीतर्फका २ जना सरकारी वकिल सहित अधिवक्ता पुष्पराज पौडेलले त्यसको खण्डन गर्नु भएको थियो । रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवाल, सहन्यायाधिवक्ता सूर्यराज दाहाल र उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइरालाले आलमलाई थुनामा राखेर घटनाको अनुसन्धान हुनुपर्ने माग राख्नु भएको थियो ।

आलमले जघन्य अपराध गरेको भन्दै उनलाई कडा सजायको मग गर्दै पौडेलसँगै वरिष्ठ अधिवक्ता युवराज संग्रौला, ओमप्रकाश अर्याललगायतले बहस गर्नु भएको थियो ।

थुनछेक बहस सकिएसँगै ४ नम्बर इजलासका न्यायाधीश दीपक ढकालले केही बेरमा आदेश दिने तयारी गर्नु भएको छ । केही बेरमा आलमलाई थुन्ने कि छाड्ने भन्ने आदेश आउने छ । आदेश दिने तयारी भएसँगै जिल्ला अदालत रौतहट परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत परिषरको झण्डै ४ सय मिटर वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरीका झण्डै ६ सय जना सुरक्षाकर्मी खटाइएको छ ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया