यू–१९ च्यालेञ्जर्स ट्रफी : भारतको ब्लू टिमसँग दुई विकेटले पराजित

 कात्तिक २९, २०७६ शुक्रबार १७:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा जारी यू–१९ च्यालेञ्जर्स ट्रफीको लिग चरणमा नेपाल जितविहीन बनेको छ । राउण्ड रोबिन लिगको अन्तिम खेलमा आज नेपाल भारतको ब्लू टिमसँग दुई विकेटले पराजित भयो ।

प्रतिस्पर्धात्मक खेलमा नेपालले दिएको २११ रनको लक्ष्य भारत ब्लूले ४६.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतको जितमा दिभ्यांश जोशीले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कृष्ण सेट्टीले ३९ रन बनाए भने राजेश जम्वालले २९, सागर धैयाले २८ रनको योगदान दिए ।

बलिङतर्फ आकाश चन्दले चार विकेट लिँदा सागर ढकालले दुई विकेट हात पारे । यस्तै कुशल मल्ल र शेर मल्लले पनि एक-एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका लागि कप्तान रित गौतमले ८४ रनको उत्कृष्ट इनिङ्स खेले । अन्य ब्याट्सम्यानहरु दोहोरो अंकको रन बनाउन नपाउँदै पभेलियन फर्किँदा रितले ९३ बल खेलेर १२ चौका र एक छक्का प्रहार गरे ।

लोकेश बम पाँच रनमा, त्रितराज दास दुई रनमा, विशालविक्रम केसी ३ रनमा र अभिषेक बस्नेत डक आउट हुँदा उनी क्रिजमा टिकेर बसेका थिए । उनी बाहेक शेर मल्लले ३३, हरिबहादुर चौहानले २० रन बनाए आकाश चन्दले १८ रनको योगदान दिए ।

बलिङतर्फ दिभ्यांश जोशी र अथर्व विनोद अन्कोलेकरले दुई-दुई विकेट लिए । यस्तै अकिव खान, विवेक कुमार र आरएम विष्नोईले एक-एक विकेट हात पारे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया