‘फिल्म साउथ एसिया-२०१९’ : बंगलादेशको ‘ब्याम्बू स्टोरिज’ उत्कृष्ट वृत्तचित्र

 मंसिर २, २०७६ सोमबार १२:५५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - बंगलादेशका बाँस व्यापारीको कथा समेटिएको ‘ब्याम्बू स्टोरिज’ले फिल्म साउथ एसिया–२०१९ मा उत्कृष्ट वृत्तचित्रको अवार्ड पाएको छ ।

यो वृत्तचित्रले रामबहादुर ट्रफीसहित २ हजार अमेरिकी डलर हात पार्यो । शाहीन दिल–रियाजले निर्देशन गरेको ‘ब्याम्बो स्टोरिज’ मा बंगलादेशका बाँस व्यापारीको जोखिमपूर्ण जीवन देखाइएको छ । ५ जना बाँस व्यापारीले २५ हजार बाँस बेच्नका लागि गरेको जोखिमपूर्ण यात्रा यसमा समेटिएको छ । नदीमा डुंगाको सहयोगमा बाँसको ढुवानी गर्ने क्रममा उनीहरु रातिको समयमा डाँकुको शिकारसम्ममा पर्ने गर्छन्  ।

तस्बिर - रुजेन महर्जन/कथाहरु

त्यस्तै अमित महन्तीले निर्देशन गरेको ‘स्क्रयाचेज अन स्टोन’ महोत्सवमा दोस्रो भयो । ५० वर्षदेखि नागाल्याण्डको स्वतन्त्रताका लागि लड्दै आएका समूह र त्यहाँको आदिवासी जीवन समेटिएको यस वृत्तचित्रले एक हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

तस्बिर - रुजेन महर्जन/कथाहरु

त्यस्तै कश्मीरको राजनीति, हिंसा र त्यसले निम्त्याएका पीडा समेटिएको ‘आफ्टर प्रेयर्स’ ले तारेक मसूद बेस्ट डेब्यू फिल्मको अवार्ड जितेको छ । इटालीका निर्देशक सिमोनी मेस्त्रोनीले निर्देशन गरेको यस वृत्तचित्रले एक हजार डलर प्राप्त गर्यो ।

तस्बिर - रुजेन महर्जन/कथाहरु

बालबालिकाको विषयमा केन्द्रित युनिसेफ उत्कृष्ट चलचित्रको पुरस्कार अफगानिस्तानका अबूजार अमिनीले बनाएको ‘काबुल, सिटी इन द विण्ड’ ले प्राप्त गर्यो । यसले एक हजार अमेरिकी डलर प्राप्त गर्यो ।

त्यस्तै हेमन्तकुमार गाबाको ‘एन इन्जिनियर्ड ड्रिम’, सुप्रियो सेनको ‘स्विमिङ थ्रु द डार्कनेस’ र जेस अल्कको ‘परिहा’ डगले जुरी स्पेसन मेन्सन अवार्ड पाएका छन् ।

त्यस्तै विद्यार्थी विधातर्फ आशिश लिम्बू र देबिन राईले बनाएको ‘विन्टर ट्याप’ र ऐश्वर्या ग्रोभरले बनाएको ‘मेम्वा अफ् सायरा एण्ड सलिम’  ले जितेका छन् । दुवैले ५ सय अमेरिकी डलर प्राप्त गरेका छन् ।

तस्बिर - रुजेन महर्जन/कथाहरु

यस पटकको महोत्सवको निर्णायकमा पत्रकार कुन्द दीक्षित, भारतीय चलचित्र निर्देशक तथा इन्स्टलेसन कलाकार आयशा अब्राहम तथा श्रीलंकाली चलचित्र निर्देशक तथा अंग्रेजीका प्राध्यापक शिवमोहन सुमाथी रहेका थिए ।

सन् १९९७ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको महोत्सवको १२औँ संस्करणमा ७ देशका ६३ वृत्तचित्र प्रदर्शित भएका थिए । बिहीबारदेखि चार दिनसम्म चलेकाे चलचित्र महोत्सवमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तान तथा म्यानमारका वृत्तचित्र रहेका थिए ।

यस पटक अनलाइनबाटै फिल्म मागिएकाले २५ सय भन्दाबढी चलचित्र प्राप्त भएको महोत्सवका सहायक निर्देशक आलोक अधिकारीले जानकारी दिनुभयो । विभिन्न तीन वटा चरणमा छनोट गरिएका ६३ चलचित्रमध्ये १२ वटा ‘स्टुडेन्ट फिल्म’ र ५१ वटा फिल्म ‘मेन सेलेक्सन’ अन्तर्गत रहेका छन् । ५१ वटा चलचित्र प्रतिस्पर्धा विधामा रहेका थिए ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया