उत्तराखण्डका मुख्यमन्त्री राउतको विवादित अभिव्यक्ति : कालापानी भारतकै हो, भारतकै रहन्छ

 मंसिर ३, २०७६ मंगलबार १८:९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले कालापानीका बारेमा विवादित अभिव्यक्ति दिनु भएकाे छ ।

मुख्यमन्त्री राउतको भनाइलाई उद्धृत गर्दै भारतीय पत्रिका अमर उजालाले लेखेको छ, ‘नेपालले जे भनिरहेको छ, त्यो चिन्ताजनक छ ।  कालापानी भारतको हिस्सा हो, त्यो भारतकै रहन्छ ।’

मुख्यमन्त्री राउतको भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि कसैलाई पनि मिच्न नदिने भनेपछि आएको हो । प्रधानमन्त्री ओलीले आइतबार कालापानीमा भारतले अतिक्रमण गरेको र त्यहाँ रहेका भारतीय सेना फिर्ता पठाउने बताउनु भएको थियो ।

उत्तराखण्डका मुख्यमन्त्री राउतले नेपालले उठाएका केही कुरा वार्ताको माध्यमबाट हल गर्न सकिने पनि बताउनु भएको छ । उहाँले भन्नु भएको छ, ‘नेपाल भारतको मित्रराष्ट्र हो । वार्ताकै माध्यमबाट विवाद समाधान हुन सक्छ ।’

केही दिनअघि भारतले निकालेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेपछि नेपालमा लगातार विरोध प्रदर्शन भैरहेको छ ।

आइतबार प्रधानमन्त्री ओलीले कुटनीतिक तबरबाटै सीमा विवाद हल गरिने बताउनु भएको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिलाई भारतीय सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका थिए । 

 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया