तीन महिने अर्थतन्त्र : मूल्यवृद्धि उच्च, विदेश जाने घट्दा रेमिट्यान्समा कमी

 मंसिर ५, २०७६ बिहिबार १५:२८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्यवृद्धि बढेको छ । 

राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गएको आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्यवृद्धि ४ दशमलव ६८ प्रतिशत रहेकोमा यो आर्थिक वर्षको साउन, भदौ र असोजमा ६ दशमलव ४४ प्रतिशत मूल्यवृद्धि भएको छ । 

तीन महिनामा काठमाण्डौ उपत्यकामा सबैभन्दा धेरै ८ दशमलव १४ प्रतिशत, तराईमा ५ दशमलव ७५ प्रतिशत, पहाडमा ४ दशमलव ८९ प्रतिशत र हिमालमा ५ दशमलव ११ प्रतिशत मूल्यवृद्धि भएको छ । 

आयात घट्यो, निर्यात बढ्यो 

आर्थिक वर्ष २०७६/७७ को तीन महिनामा कुल वस्तु निर्यात १४ दशलमव ४ प्रतिशतले बढेर २७ अर्ब १७ करोड पुगेको छ । गन्तव्यका आधारमा भारततर्फ ३५ दशमलव ८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १९ दशमलव ९ प्रतिशत र अन्य देशतर्फ ११ दशमलव ७ प्रतिशतले कमी आएको छ । 

यस्तै  तीन महिनामा कुल वस्तु आयात १० दशमलव ३ प्रतिशतले घटेर ३ खर्ब ३४ अर्ब ९५ करोड पुगेको छ । वस्तु आयात गरिने देशका आधारमा भारत तथा अन्य देशबाट भएको आयात क्रमशः १२ दशमलव २ प्रतिशत र १९ दशमलव १ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११ दशमलव ६ प्रतिशतले बढेको छ । 

चालु आर्थिक वर्षको तीन महिनासम्ममा कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले घटेर ३ खर्ब ७ अर्ब ७८ करोडमा सीमित रहेको छ । तीन महिनामा निर्यात–आयात अनुपात ८ दशमलव १ प्रतिशत पुगेको छ । 

रेमिट्यान्स घट्यो, विदेश जाने पनि कम

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स घटेको छ । साउन, भदौ र असोजमा रेमिट्यान्स ४ दशमलव ९ प्रतिशतले घटेर २ खर्ब ३० अर्ब २४ करोडमा सीमित भएको छ ।  

अघिल्लो वर्षको ३ महिनामा रेमिट्यान्स ३७ दशमलव ३ प्रतिशतले बढेको थियो । यस्तै अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३ महिनामा ३ दशमलव ७ प्रतिशतले घटेको छ । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि शून्य दलमलव ९ प्रतिशतले घटेको छ । 

चालु खाता सुधारतर्फ, वैदेशिक लगानी बढ्यो

चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता घाटा २७ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सुरुको तीन महिनामा यस्तो घाटा ८१ अर्ब ७४ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको तीन महिनासम्ममा ७१ करोड ५० लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा २३ करोड ९९ लाख रहेको छ । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोडले घाटामा रहेको थियो । यस्तै पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब  रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तीन महिनामा पुँजीगत ट्रान्सफर ३ अर्ब ५५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया