महाराष्ट्रको सत्ता समीकरणमा नाटकीय परिवर्तन : बीजेपी र एनसीपी मिलेर सरकार बनाए

 मंसिर ७, २०७६ शनिबार ९:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको महाराष्ट्र राज्यमा नाटकीय घटनाक्रमको विकासपछि भारतीय जनता पार्टी(बीजेपी) विधायक दलका नेता देवेन्द्र फडणवीसले मुख्यमन्त्री पदको सपथ लिएका छन् ।

नेसलिस्ट कांग्रेस पार्टी(एनसीपी) ले बीजेपीलाई सरकार बनाउन समर्थन दिएपछि फडणवीसले मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन् । एनसीपीका नेता अजित पवारले पनि उप–मुख्यमन्त्रीको रुपमा सपथ लिएका छन् ।

महाराष्ट्रको राजनीतिमा रातारात राजीनितक हलचल आएको हो । रातारात महाराष्ट्रको राजनीतिक समीकरणमा परिर्वतन आएको छ । शुक्रबार मात्रै एनसीपी र कांग्रेसले शिव सेनाका नेता उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए । एनसीपीका दिग्गज नेृता शरद पवारले नै यसको जानकारी दिएका थिए । 

शनिबार बिहान शिव सेना, कांग्रेस र एनसीपीबीच सरकार चलाउनका लागि न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल हुने तय भएको थियो । तर बिहान हुँदै गर्दा मुम्बईको राजभवनमा देवेन्द्र फडणवीस र अजित पवारले सपथ ग्रहण गरेका छन् ।

२८८ सिट रहेको महाराष्ट्र विधानसभाको चुनावमा बीजेपीले १०५ सिटमा जित हात पारेको थियो । एनसीपीले भने ५४ सिटमा जित हात पारेको थियो । शिव सेनाले ५६ सिटमा जित हात पार्दा कांग्रेसले ४४ सिट जितेको थियो । शिव सेना बीजेपीसँग गठबन्धन बनाएर चुनाव लडेको थियो । त्यस्तै कांग्रेस र एनसीपी पनि गठबन्धन बनाए चुनावमा गएका थिए । महाराष्ट्रमा सरकार बनाउन १४४ सिट आवश्यक पर्दछ ।

गठबन्धनमै चुनाव लडेका बीजेपी र शिव सेनाले सहज रुपमै सरकार बनाउन सक्ने भए पनि दुवैबीच मतभेद भएको अहिलेको अवस्था आएको हो । दुई पार्टीबीच मुख्यमन्त्री पद र सत्ताको साझेदारीका विषयमा मतभेद उत्पन्न भएको थियो । त्यसपछि शिव सेनाले एनसीपी र कांग्रेससँग मिलेर सकार बनाउने कसरत गरेको थियो । 

महाराष्ट्रमा सरकार बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत मुख्यमन्त्री फडणवीस र उप–मुख्यमन्त्री पवारलाई बधाई दिएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया