पीएसजी र रियल मड्रिड च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा

 मंसिर ११, २०७६ बुधबार ६:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन र रियल मड्रिड च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सान्टियागो बर्नाबाउमा भएको रोमाञ्चक खेलमा दुई गोलले पछि परेको पीएसजीले खेलको उत्तरार्धमा दुई गोल गर्दै बराबरीमा पुर्‍याएको थियो ।

समूह ए अन्तर्गत क्लब ब्रुगे र गलातासारेबीचको खेल १–१ गोलको बराबरीमा सकिएपछि दुवै टिम खेल्नुभन्दा केही समयअघि नै अन्तिम १६ को यात्रा पक्का पारिसकेका थिए ।

करिम बेन्जेमाले दुई गोल गर्दै रियललाई अग्रता दिलाए । जिदाने फर्किएपछि सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको रियलका लागि बेन्जेमाले १७औँ मिनेटमा नै अग्रता दिलाएका थिए । पहिलो हाफमा रियलले सोही अग्रता कायम राख्यो । खेलमा रियलले कुल दशवटा सट पीएसजीको पोस्टमा प्रहार गरेको थियो ।

७९औँ मिनेटमा मार्सेलोको पासमा बेन्जेमाले अर्को गोल गरेपछि रियलले २–० को अग्रता लिएको थियो ।

८१औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए । त्यसको दुई मिनेटपछि नै पाब्लो सारावियाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

खेलको अन्तिम समयमा ग्यारेथ बेलको फ्रिकिकले पीएसजीका गोलकिपरलाई बिट गरेको अवस्थामा बल पोस्टमा लागेर फर्किँदा रियलले जितको मौका गुमायो ।

बराबरीपछि पीएसजी समूह विजेता बन्न सफल भएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया